भारतसँग ५ भन्सार नाका थप्न प्रस्ताव
परासीको त्रिवेणी, झापाका झापाबजार र गौरीगञ्ज, मोरङको मायागञ्ज तथा कञ्चनपुरको बेलौरीमा भारतसँग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव दुर्इ मुलुकका अधिकारीहरूको बैठकले गरेको छ।
३-४ मंसिरमा काठमाडौंमा भन्सार सहकार्य तथा समन्वयको बैठकले यस्तो प्रस्ताव गरेको हो। बैठकमा दुवै मुलुकका भन्सार विभागका महानिर्देशक सम्मिलित थिए। गण्डकी प्रदेशमा परासीको त्रिवेणीमा भन्सार नाका खोल्न सम्भाव्यता अध्ययन गर्ने सहमति बैठकमा जुटेको छ। संविधान निर्माणका क्रममा गण्डकी प्रदेशलाई भारतसँग जोड्न नवलपरासी जिल्लालाई टुक्रयाइएको थियो।
यस्तै, झापाका झापाबजार र गौरीगञ्ज, मोरङको मायागञ्ज तथा कञ्चनपुरको बेलौरीमा भन्सार नाकाको सम्भाव्यता अध्ययन गर्ने निर्णय बैठकले गरेको छ। नेपालीपक्षले त्रिवेणी, बेलौरी र झापाबजारमा भन्सार नाका खोल्नुपर्ने प्रस्ताव गरेको थियो। भारतीय पक्षले गौरीगञ्ज र मायागञ्जमा भन्सार खोल्ने प्रस्ताव गरेको थियो।
संयुक्त टोलीको अध्ययन प्रतिवेदनपछि भन्सार नाका थप गर्ने विषयमा दुवै सरकारले निर्णय गर्ने भन्सार विभागका महानिर्देशक तोयम रायाले बताए। बैठकमा भन्सार सहकार्य तथा समन्वयका विषयमा १८ बुँदे सहमति भएको रायाले हिमालखबरलाई जानकारी दिए।
बैठकमा सार्कको भन्सारसम्बन्धी सम्झौताअनुसार नेपाल र भारतबीच दुई पक्षीय व्यापारको तथ्यांक आदानप्रदान गर्ने सहमति भएको छ। त्यसबाट भारतसँगको व्यापारमा हुने गरेको न्यूनबिजकीकरण नियन्त्रण गर्न सहज हुने रायाको भनाइ छ।
यस्तै, सीमामा हुने गैरकानूनी व्यापार नियन्त्रणका लागि संयुक्त अनुगमन गर्ने, भन्सारलाई पूर्ण अटोमेसनमा लैजानेलगायत भन्सार प्रशासन सुदृढीकरणका विषयमा सहमति भएको रायाले बताए। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारतसँग २४ वटा मूल भन्सार सञ्चालनमा छन्।