टिप्पणी बुधबार, असोज २६, २०७३

चमत्कारको अपेक्षा

हिमालखबर

दीपक अर्याल

विद्यालयका नेपाली पुस्तकले साहित्यकारहरूलाई अरूका रचना पढ्ने, विषयवस्तुमाथि गम्भीर अनुसन्धान तथा छलफल गर्ने, परिश्रमी व्यक्ति नभई 'चमत्कारी' व्यक्तित्वको रूपमा चिनाउँछ।

स्कूले विद्यार्थीका निम्ति नेपाली साहित्यकारको प्रतिभा वा योगदान चिनाउन जोडिने सबभन्दा लोकप्रिय फुर्को 'हुने बिरुवाको चिल्लोपात भनेझैं' फल्ना साहित्यकारले सानैदेखि साहित्यमा रुचि राख्थे भन्ने हो। यो लेख तयार पार्ने क्रममा हेरिएका हाम्रो नेपाली, महेन्द्रमाला, नेपाली जस्ता विभिन्न समयमा प्रकाशित विद्यालयका पुस्तकहरूले साहित्यकारलाई परिश्रमी, कुनै पनि विषयवस्तुलाई गम्भीर तरीकाले सोच्ने, छलफल तथा बहस गर्ने, मिहिनेतसँग पढ्ने र आफ्ना रचना वा कृति तयार गर्दा साधना गर्ने व्यक्तित्वका रूपमा चित्रित गर्दैन बरू उनीहरूलाई 'चमत्कारी' व्यक्तिका रूपमा चिनाउँछ।

'चमत्कार' नै नेपाली साहित्यको सबभन्दा ठूलो समस्या हो र यसमा नेपाली साहित्यकार तथा पाठकलाई ठूलो विश्वास छ। हाम्रो पुस्ता यस्तै चमत्कारी साहित्यकारहरूको कथा र जीवनी पढेर हुर्किएको छ। न हामीलाई साहित्यकारका वास्तविक जीवनी पढाइयो न त साहित्यकारहरूले एउटा किताब, पुस्तक वा कविता नै लेख्नका लागि कैयौं पुस्तक पढेको, कैयौं ठाउँ घुमेको, बहस, छलफल र चिन्तन गरेको वा धेरै समय सोही विषयमा घोत्लिनु परेको वास्तविकता बताइयो। हामीलाई साहित्यकारका विषयमा वास्तविकता भन्दा चमत्कारका कथा र उपकथा जोडेर पढाइयो।

चिल्लोपात

त्यसैको प्रभाव हुन सक्छ पाठकका नाताले हामीले त्यस्तै 'चमत्कार' को अपेक्षा गर्‍यौं र कैयौं साहित्यकारले पनि त्यस्तै 'चमत्कार' को भ्रम पालिरहे। त्यसैले होला हाम्रा पुस्ताका साहित्यकारहरूले साहित्य वा रचनालाई 'साधना' हो भन्ने नै ठानेनन्। न उनीहरूले यसका लागि पढ्नुपर्ने जति पढे न त समाज बुझनका लागि घुम्नुपर्ने जति घुमे। कोठामा बसेर लोकगीतको रचना गर्नु र साहित्यिक सृजना गर्नु हाम्रो लागि उस्तै बन्दै गयो। त्यसैले हामीले 'कालीका मन्दिरमा जिब्रो काटेर अर्पण गर्न उद्यत भएको देखेर काली प्रसन्न भई उनलाई विद्याको वरदान दिइन्' (पृ.४५, २०५६, कक्षा ८) भन्ने कालिदासको कथा पत्याइरह्यौं। कालिदास बनिरह्यौं र बन्ने प्रयास गरिरह्यौं।

हामीले नेपाली साहित्यकारहरूको वास्तविक कथा, दैनिक जीवन, परिवार वा समाजमा भोगेका कथा–व्यथा र उनीहरूले गरेका साधना–समर्पणका कुरा गर्न, सुन्न चाहेनौं। दुब्लो शरीर, केही छ्याकटे अनुहार र कालो वर्णका भवानी भिक्षुले 'हुने बिरुवाको चिल्लोपात' भनेझैं सानै उमेरदेखि साहित्यसेवामा रुचि देखाए(पृ.७०, २०५४ कक्षा ६)। अर्थात्, सानोमा चिल्लोपात हुने बिरुवाले मात्र साहित्यको सेवा गर्न सक्छन्, साहित्य लेख्न सक्छन् वा साहित्यमा लाग्न सक्छन्! र, यस्तो चिल्लोपात कसरी बन्यो, बिरुवा कस्तो थियो, त्यसमा कसले कति मलजल गर्‍यो, कसले पानी हाल्यो वा कसले झारपात उखेल्यो भन्ने कुरा भने पढ्नु/पढाउनु, सुन्नु/सुनाउनु आवश्यक छैन। साहित्यकारको परिवार, पारिवारिक सहयोग, साथीसँगी, स्कूल, समाज आदिको प्रभाव साहित्यकारका जीवनीमा पर्दैनन्।

हामीले पढ्ने जीवनीले साहित्य लेखनका क्रममा एउटा साहित्यकारले कति परिश्रम गरे, कति पढे, कति सोचे, कति घुमे वा कति मान्छेलाई भेटेर कति दिनरात विचारमन्थन गरेर कुनै साहित्य रचना गरे? भन्ने कुराको हेक्का नै राख्दैन। त्यसैले यहाँ देवकोटा चमत्कार गर्छन्। विद्यार्थीलाई पढाइन्छ– 'देवकोटामा असाधारण कवि–प्रतिभा थियो। उनले तीन महीनामा शाकुन्तल र वर्ष दिनमा 'सुलोचना' जस्ता महाकाव्य लेखेर आफ्नो कवि–प्रतिभाको परिचय दिएका छन्' (पृ.१६, २०३९, कक्षा ९ र १०) वा 'उनी कस्तो छिटो कविता रचना गर्न सक्थे भने तीन महीनाभित्रमा 'शाकुन्तल' महाकाव्य, दश दिनमा 'सुलोचना' जस्तो महाकाव्य र एक रातमा 'कुञ्जिनी' जस्तो खण्डकाव्य उनले सकेका थिए' (पृ. २८, २०५४ कक्षा ९ र १०)।

मानौं, देवकोटाले योभन्दा अगाडि कुनै पुस्तक पढेका थिएनन्, परिश्रम, विचार–विमर्श र कुनै चिन्तन गरेका थिएनन्। पुस्तक लेख्नका लागि वर्षौंदेखि यसैका विषयमा पढेका, सोचेका केही थिएनन्। असाधारण प्रतिभाका धनी भएकाले उनलाई त्यसो गर्नु आवश्यक थिएन। उनले अचानक कापीमाथि कलम दौडाए अनि खुरुखुरु शाकुन्तल, सुलोचना वा कुञ्जिनी लेखेर सकिदिए। त्यस्तो पो प्रतिभा! त्यस्तो पो क्षमता! केही सोच्नु नपर्ने, केही पढ्नु र जान्नु–बुझनु नपर्ने!

अर्को उदाहरण– 'हुने बिरुवाको चिल्लोपात भनेझैं गोपालप्रसाद रिमालले आफ्नो प्रतिभाको परिचय सानै उमेरदेखि दिएका थिए। सबै परीक्षामा प्रथम स्थान प्राप्त गर्ने रिमाल अध्ययनमा औधी रुचि राख्थे' (पृ.१५, २०५६, कक्षा ८)। हो, पक्कै पनि अध्ययनमा रुचि राख्रुने रिमालको साहित्य लेखनमा अध्ययनले सघायो होला तर कस्तो खालको विषयवस्तु बोकेको, कस्तो पुस्तक वा अध्ययनले? परीक्षामा प्रथम हुने अध्ययन सामग्रीले कि साहित्य लेखनका लागि आवश्यक अध्ययन सामग्रीले? कि परीक्षामा प्रथम स्थान ल्याउनेले मात्र साहित्य लेख्न सक्छन् भन्ने हो? वा साहित्यकार हुनुको आधार नै 'चिल्लोपात' हुनु हो?

अनि, यस्तै असाधारण प्रतिभा र क्षमता तथा चमत्कार पढेर हुर्किएका पाठकलाई यस्तै 'चमत्कारी' साहित्यकार र लेखनको अपेक्षा हुनेरहेछ, साहित्यकारलाई पनि त्यस्तै प्रतिभा र क्षमता आफूमा रहेको भ्रम हुनेरहेछ। अनि त बस्नासाथ कविता, कतै हिंड्नासाथ नियात्रा, कथा वा अन्य सिर्जनाको मूल फुट्ने। सोच्नु नपर्ने; चिन्तन, बहस र छलफल गर्नु नपर्ने। पुनर्लेखन, सम्पादन, छाँटकाँट वा अन्य थुप्रै काम गर्नु नपर्ने!

प्रतिकृया दिनुहोस