प्रदेश–५ को सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– अबको ध्यान सुशासन र आर्थिक विकासमा
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारले सुशासन र आर्थिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।
प्रदेश–५ को प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक विकासका लागि उपलब्ध मानवीय स्रोत, साधन, सीप र औजारको अधिकतम प्रयोग गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले कुनैपनि अनुचित काममा सम्झौता नगर्ने भन्दै केही समूहको फाइदाका लागि हुने सिण्डिकेट, घुसखोरी र बन्द हडताल जस्ता गतिविधिलाई निस्तेज पार्न तीनवटै सरकार लाग्नुपर्ने बताए ।
उनले सरकार शासन गर्नका लागि नभई जनताको सेवा गर्नका लागि भएको भन्दै भ्रष्टाचार, अनियमितता र घुसखोरी विरुद्ध नागरिकको रक्षक भएर उभिन प्रदेश सरकारलाई निर्देशन समेत दिएका छन् ।
धार्मिक तथा साँस्कृतिक पर्यटन, कृषि, उद्योग, व्यापार लगायतले प्रदेश ५ सम्भावनायुक्त प्रदेश भएको बताउँदै प्रधानमन्त्री ओलीले यसको योजनावद्ध विकासमा लाग्न समेत आग्रह गरे ।
प्रधानमन्त्री ओलीले आजै लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सम्बोधन समेत गर्नेछन् ।
दीपक ज्ञवाली, बुटवल