सधैं लाभको पदमा महरा
सभामुखका लागि उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा १० वर्षको अवधिमा धेरै लाभको पद पाउने भाग्यमानी नेता मानिएका छन् ।
निर्वाचन आयोगले आज १ बजेसम्मका लागि सभामुखको लागि उम्मेदवारी दिने समय तोकेको थियो । यो अवधिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका अन्य दलले उम्मेदवारी दर्ता नगराएपछि महरा ५ वर्षको लागि सभामुखमा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । तर, औपचारिक घोषणा भने भोलि मात्रै हुनेछ ।
२०१५ सालमा रोल्पाको लिवाङमा जन्मिएका महराले २०३५ सालबाट राजनीतिक यात्रा शुरु गरेका थिए ।
महरा रोल्पा क्षेत्र नम्बर–२ बाट ०४८ सालको आम निर्वाचनमा निर्वाचित भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा दाङ–३ र दोस्रो संविधानसभाको निर्वाचन २०७० मा महरा रोल्पा–१ बाट निर्वाचित भएका थिए । आम निर्वाचन २०७४ मा महरा दाङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुन् ।
महरा पहिलोपटक गिरिजाप्रसाद कोइराला सरकारको पालामा २०६३ सालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । केही समयपछि कोइराला नेतृत्वको सरकारसँग असन्तुष्ट बन्दै माओवादी सरकारबाट बाहिरिएको थियो । २०६३ मै पुनः माओवादी कोइराला नेतृत्वकै सरकारमा सामेल भयो । त्यो बेला पनि महराले सूचना तथा सञ्चारमन्त्रीकै जिम्मेवारी सम्हाले ।
उनी हालसम्म ६ पटक मन्त्री र तीन पटक उपप्रधानमन्त्री बनिसकेका छन् । महराले शक्तिशाली मानिने गृह र अर्थजस्ता मन्त्रालयको जिम्मेवारी पनि सम्हालीसकेका छन् ।
२०६४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकरमा महरा पुनः सूचना तथा सञ्चार मन्त्री बने ।
२०६७ सालमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा महरा उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।
२०७३ मा माओवादी र कांग्रेसको संयुक्त सरकार बन्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको उक्त सरकारमा महरा उपप्रधान तथा अर्थमन्त्री बने ।
त्यस्तै शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०७४ मा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिए ।
अब २०७९ सम्म महरा प्रतिनिधि सभाको सभामुख बन्ने निश्चत भएकाे छ ।