स्थानीय तहका उम्मेदवारले अझै खर्च विवरण बुझाएनन्
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले अझै निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचन सम्पन्न भएको नौ महिना बितिसक्दा पनि चितवनका कतिपय उम्मेदवारहरुले अझै खर्च विवरण नबुझाएका हुन् ।
स्थानीय निर्वाचनमा जिल्लाभर दुई हजार २३६ उम्मेदवार रहेकोमा ९३० जनाले खर्च विवरण बुझाएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालका अनुसार खर्च नबुझाउनेमा इच्छाकामना गाउँपालिकाका २२, कालिका नगरपालिकाका ८१, खैरहनी नगरपालिकाका १५२, भरतपुर महानगरपालिकाका २८१, माडी नगरपालिकाका १४३, रत्ननगर नगरपालिकाका १४९ र राप्ती नगरपालिकाका १०२ जना उम्मेदवारहरु रहेका छन् ।
त्यस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी उम्मेदवार मध्ये २४ जनाले खर्च विवरण बुझाएका छैनन् ।
प्रतिनिधिसभातर्फ १२ जना र प्रदेश सभातर्फ १२ जनाले खर्च विवरण नबुझाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि चितवनमा ९५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । खर्च विवरण पेश नगर्ने अधिकांश स्वतन्त्र उम्मेदवारहरु छन् ।
खर्च विवरण नबुझाएका उम्मेदवारलाई तत्काल खर्च विवरण बुझाउनका लागि आग्रह गरिएको ढकालले जानकारी दिए । रासस