तारुकाको गोरु जुधाई, रौस मात्र
नुवाकोटमा हरेक वर्ष आयोजना गरिने गोरु जुधाई मेला रौस मात्र बनेको छ ।
शब्द/तस्वीर: सविता श्रेष्ठ
माघे संक्रान्ति पर्व नेपालमा विभिन्न समुदायले फरक तौरतरिकाले मनाउँछन् । फरक–फरक विधि र पम्परा अनुसार मनाइने माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा भने गोरु जुधाई आयोजना हुन्छ ।
पछिल्ला वर्षमा माघेसंक्रान्ति पर्व भन्ने बित्तिकै नुवाकोटको गोरु जुधाई पनि सम्झिन थालिएको छ ।
नुवाकोट जिल्लाका विभिन्न ठाउँमा गोरु जुधाउने परम्परालाई विगत १२ वर्षदेखी भने तारकेश्वर गाउँपालिका ३ को तारुकामा समेट्न थालिएको छ । यस वर्ष तारुकामा २० हल गोरु जुधाईएको थियो ।
तारकेश्वर–४ भञ्ज्याङकी बिनिता तामाङ (१२) दुईघण्टा हिँडेर परिवारसँग गोरु जुधाई हेर्न पुगेकी थिईन् । गोरुको जुधाई, मान्छेको भीड रमाईलो लाग्छ उनलाई । धादिङ गल्छीपालिकाका भुपाल नेपाली (६१) भने गोरु जुधाईमा ‘मेला भर्न’ पुगेकालाई नाङ्लो बेचेर आयआर्जन गर्छन् ।
गोरु जुधाई मनोरञ्जनको माध्यम र खेलको जात्रा बनेको मेला व्यवस्थापन समितिका अध्यक्ष शिववहादुर अधिकारीले बताए । स्पेनको ‘बुलफाइट’ को झल्को दिएपनि तारुकाको गोरु जुधाई मौलिक शैलीको भएको र संस्कृतिको अंग बनिसकेको उनी बताउँछन् ।
बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ तारुकामा भान्जालाई मावली आउँदा स्वागत गर्न गोरु जुधाएपछि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको बताईन्छ ।
नुवाकोटको बेत्रावतीमा भने नेपाल–चीन र भोट युद्धपछि गरिएको सम्झौताको सम्झनामा गोरु जुधाउनले परम्परा बसेको किंवदन्ती पाईन्छ । सोही अनुसार यस परम्परालाई अहिलेका पुस्ताले पनि पहिचानको रुपमा निरन्तरता दिइरहेका छन् ।
पर्यटक भित्राउने मेसो
तारुकालाई पर्यटकीय क्षेत्र बनाउन गोरु जुधाई मेलाले पनि टेवा पुर्याउने विश्वास अधिकारीको छ ।
तारुकावेशीहुँदै तारुकालाई बीचमा पारेर धादिङ जाने ट्रेकिङ रुट बनाईएको भएपनि खासै प्रयोगमा आएको छैन ।
मेलालाई साझा पर्व बनाउने प्रयास गरिएपनि मेला आयोजना गर्दा भने तीन प्रमुख राजनीतिक दल बीच पालो लगाएर मेला आयोजना गर्ने गरिन्छ ।
अघिल्लो वर्ष कांग्रेसीले, यो वर्ष एमालेले मेलाको आयोजना गरेको छ । अर्को वर्ष माओवादीको पालो पारिएको छ ।
गोरु जुधाईलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न शुरु गरिएपनि यस्तो अभ्यासले नकारात्मक प्रभाव समेत परेको छ ।
तारुका पुग्ने धुलौटे कच्चीबाटोको कष्टकर यात्राले गर्दा एक पटक पुगेका पर्यटक फेरी दोहोर्याएर पुग्ने संभावना समेत कम छ ।
अहिलेसम्म स्थानीयको निजी जग्गामा गोरु जुधाई आयोजना गरिएको छ । गोरु जुधाउनको लागि तारुकामा नुवाकोट र धादिङका समेत किसानले गोरु ल्याउँछन् ।
पिठो, मास, भटमास, मकै अण्डा लगायतका पोषणयुक्त खानेकुरा खुवाएर मेलाका लागि गोरुलाई तयार गरिन्छ ।
पशु अधिकारकर्मीहरुले भने पशुको अधिकार हनन् भएको भन्दै यसको विरोध गर्ने गरेका छन् ।
३५ वर्षदेखि नेपालमा आयोजना गरिँदै आएको अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता पनि अघिल्लो वर्षबाट आयोजना गर्न छाडिएको छ । गोरु जुधाई मेलाको नियती पनि त्यस्तो नहोला भन्न सकिँदैन ।
एनिमल बायोटेक्नोजोलिष्ट डा. ईश्वरीप्रसाद कडरिया मनोरञ्जन लिन कै लागि पशुहरुलाई दुःख दिन नहुने बताउँछन् ।
“पशुलाई दुःख दिएर मनोरञ्जन लिने कार्य विश्वका विभिन्न देशमा प्रतिबन्धित छन्” उनी भन्छन्, “यस्तो कार्य मानविय होइन ।”