पोखरामा सडक महोत्सव शुरू
पोखराको लेकसाइडमा आजदेखि १९औं सडक महोत्सव शुरू भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०१८ लाई लक्षित गरी महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवको लागि पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झैं सिंगारिएको छ ।
रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखरा लेकसाइडको आयोजनामा हरेक वर्ष सडक महोत्सवको आयोजना हुँदै आइरहेको छ ।
१७ पुससम्म चल्ने महोत्सवको उद्घाटन एमाले नेता रवीन्द्र अधिकारीले गरे । कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित अधिकारीले आगामी पाँच बर्षमा नेपालले २० लाख पर्यटक भित्र्याउने दाबी गरे ।
नयाँ वर्ष मनाउन पोखरामा आन्तरिक र वाह्य पर्यटकको भिड लागेको छ । पोखरामा ९० प्रतिशत होटलका कोठा बुकिङ् भइसकेको व्यवसायी गणेशबहादुर थापाले जानकारी दिए ।
पोखरामा पश्चिमाञ्चल क्षेत्रीय होटल संघसँग आवद्ध ३८० होटल छन् । आवद्ध नभएका समेतगरि पाँच सय होटलमा २२ हजार बेड रहेको पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।
महोत्सव अघि निस्किएको साँस्कृतिक र्यालीले लेकसाइड परिक्रमा गरेको थियो ।
युवराज श्रेष्ठ, पोखरा