नेपाल–भारतबीच विश्वास निर्माणमा जोड दिन्छुः दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३० भदौमा चार दिने राजकीय भ्रमणका लागि भारत जाँदैछन् ।
नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्नेछन् । दाहालले ३१ भदौमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्नेछन् । सोही दिन प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट तय भएको छ ।
३१ भदौ विहान बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नेछन् भने साँझ राष्ट्रपति भवनमा आयोजना हुने स्वागत समारोहमा सहभागी हुनेछन् ।
दिल्लीमा प्रधानमन्त्री दाहाललाई भारत सरकारका केही वरिष्ठ मन्त्रीले छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँका विद्वतवर्ग तथा व्यापारिक समुदायसँग अन्तक्र्रिया र नेपाली समुदायसँग भेटघाट गर्ने छन् ।
व्यवस्थापिका–संसद्मा भारत भ्रमणबारे २९ भदौमा सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री दाहालले आफ्नो प्राथमिकता धेरै विषयको उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वासको निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगेका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वयन रहेको बताए ।
भ्रमणका क्रममा हुने द्विपक्षीय बैठकमा नेपाल र भारतबीच भएको समझदारीपत्र अनुसार पहिलो चरणको हुलाकी मार्ग निर्माण कार्यको शीघ्र थालनी र दोस्रो चरणका लागि सहयोगको सम्भावनाका बारेमा प्राथमिकताका साथ कुराकानी हुने छ ।
ऊर्जा क्षेत्रमा सहयोगको सम्बन्धमा यसअघि सम्पन्न भइसकेको ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत पन्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदन गरी अन्य कार्य आरम्भ गर्न प्रमुख प्राथमिकताका साथ पहल हुने प्रधानमन्त्री दाहालले बताए ।
भूकम्पपछिको पुनःनिर्माणमा भारतीय सहयोग, नेपाल– भारत सीमास्थित वीरगन्जमा एकीकृत चेकपोस्टको यथाशीघ्र निर्माण, विराटनगर, भैरहवा र नेपालगन्जमा पनि चेकपोस्ट निर्माण आरम्भ एवम् भारतका तर्फबाट घोषणा भएका सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्ने बारेमा पनि छलफल हुनेछ ।
भारतसँगको नेपालको व्यापार घाटा कम गर्ने उपाय, गौरीफन्टा तथा दोधारा चाँदनीबाट व्यापार तथा पारवहन मार्ग सञ्चालनको सम्भावना, दुई मुलुकबीच सीमापार रेल्वे स्थापना गर्ने सम्बन्धमा भइरहेका कामको प्रगति, सीमा क्षेत्रमा देखिएका डुबान सम्बन्धी समस्याको समाधान पनि भ्रमणका बेला छलफल हुने दाहालले उल्लेख गरे ।
पत्र आदानप्रदान
प्रधानमन्त्रीको भारत भ्रमणका समयमा दुबै पक्षबाट आन्तरिक निर्णयका प्रक्रिया यथासमयमा पूरा भएको अवस्थामा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्यूरोकाबीच सहयोग सम्बन्धी समझदारी पत्र, भारतीय भूमि हुँदै बुल्क कार्गो नेपालको सीमानासम्म ल्याउने र विशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म रेल्वे सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल्वे सेवा सम्झौतालाई संशोधन गर्ने सम्बन्धी पत्रको आदानप्रदान गर्ने कार्य सम्पन्न हुने जनाएको छ ।
नेपालका तर्फबाट प्रस्तुत हुँदैआएका तथा भारतीय पक्षबाट आउने प्रस्तावका सम्बन्धमा नेपालको सर्वोत्तम हित हुनेगरी छलफल एवम् समझदारी हुने प्रधानमन्त्री दाहालले जानकारी दिए ।
जलविद्युत् आयोजनाको अवलोकन
भारत भ्रमणको सिलसिलामा प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशस्थित नाथपा झाक्री जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै त्यहाँको औद्योगिक उत्पादन एकाइको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि रहने छन् । प्रधानमन्त्री दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी २ असोजमा स्वदेश फर्कने छन् ।रासस