स्वास्थ्य मन्त्री थापा र डा केसीबीच छलफल
स्वास्थ्य मन्त्री गगनकुमार थापाले आज डा गोविन्द केसीलाई भेटी उनका माग लगायत स्वास्थ्य क्षेत्रमा समग्र सुधारका विषयमा छलफल गरेका छन् ।
शिक्षण अस्पताल, महाराजगञ्जमा डा केसीलाई भेटेका मन्त्री थापाले आफू सँधै डा केसीले उठाएका मागका पक्षमा रहेकाले ती माग पूरा गर्ने विषयमा सकारात्मकरुपमा काम अगाडि बढाइसकेको जानकारी गराउँदै मागहरु कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका थिए ।
डा केसीले सरकारी मेडिकल कलेजमा अधिकतम विद्यार्थीलाई निःशुल्क पषढाउनुपर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज हुनुपर्ने, काठमाडौँ उपत्यकामा आउँदो १० वर्षसम्म नयाँ सम्बन्धन नदिने, अधिकतम शुल्क र सिट यो वर्ष झैँ व्यवस्था गर्ने, केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था गर्ने र त्यो मर्यादित हुने व्यवस्था गर्ने लगायतका माग राख्दै आएका छन ।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध तत्काल संसद्ले महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, माथेमा आयोगको प्रतिवेदनको सुझाव विपरीत काठमाडौँमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी हाल संसद्मा विचाराधीन विधेयक तत्काल फिर्ता गर्नुपर्ने समेत माग राखी आठपटकसम्म अनशन बसिसकेका छन् ।
डा केसीले आफ्ना माग पूरा नभए नवौँ पटक आमरण अनशन बस्ने चेतावनी यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेका छन् । रासस