नेपाल इमर्जिङ कपबाट बाहिरियो
एसीसी इमर्जिङ टिम्स् कप–२०१७ को दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनले पराजित हुदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको नेपाल १५ चैतमा भएको दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको हो । टस जितेर बंगलादेशलाई ब्याटिङको लागि निम्त्याएको नेपालको बलिङ राम्रो हुन सकेन् ।
एक रनमै पहिलो विकेट गुमाएको बंगलादेशका क्रमिक रुपमा विकेट झर्दै गए । ३३ रनमा ४ विकेट गुमाउदा बंगलादेशको पारी धर्मराएको थियो । तर नासिर हुसैनले अभिजित १०९ रन बनाएपछि ९ विकेटको क्षतिमा बंगलादेश २५७ रन बनाउन पुग्यो । उसका लागि मोनिमुल हकले ६१, अब्दुल हसनले २९ रन बनाए ।
नेपालका लागि अभिनाष कर्णले ३, शरद भेष्वाकरले २ तथा महबुब आलम, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक÷एक विकेट लिए ।
२५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभर खेल्दै १७४ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी ५६, दिलिप नाथ ४१, विनोद भण्डारी ३३, आषिप सेख १२, महबुब आलम १० रन बनाए भने अन्यले दोहोरो अंक पनि बनाउन सकेनन् । बंगलादेशका लागि रहतुल फेर्डोसले ४, महम्मद सैफुद्दिनले ३ र अब्दुल हसनले २ विकेट लिए ।
समूह बी मा रहेको नेपालले अझै खाता खोल्न सकेको छैन भने बंगलादेश र पाकिस्तान ४÷४ अंकसहित अंक तालिकाको पहिलो र दोस्रो नम्बरमा छन् । दुवै टीम सेमिफाइनलमा प्रवेश गरेका छन् । दुई खेलमा हार बेहोरेको हङकङ पनि बिना अंक पुछारमा छ । त्यस्तै समूह ए बाट ४ अंक सहित सेमिफाइलनमा प्रवेश गरेको छ ।
नेपालले प्रतियोगिताको अन्तिम खेल १७ चैतमा हङकङसँग खेल्ने छ ।