अर्घाखाँची बस दुर्घटनाका स्थानीय भन्छन्ः तत्काल सडक फराकिलो बनाऊ
विष्णु कुमार आले
अर्घाखाँचीको नरपानीमा हिजो बुधबार साँझ भएको बस दुर्घटनामा परी एकै घरका दुई जना सहित १९ जना मृतकको पहिचान खुलेको छ ।
दुर्घटनामा परी १७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा र १ जनाको चौराहा अस्पताल प्रालि बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी १८ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
सडक नाजुक भएका कारण दुर्घटना भएको चालक रोशन परियारले बताए । उनले यो क्षेत्रमा जोखिम मोलेर बस चलाउँदा मनमा डर लाग्ने बताए ।
मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क ७ डिहिडाँडा कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाउँका १० वर्षीया मोनिका खड्का, शीतगंगा २ सितापुर झिर्रा घर भई हाल कपिलवस्तुको चप्परगाउँ बस्ने गाडी धनी ३७ वर्षीय सन्तबहादुर बस्नेत, शीतगंगा २ सितापुर झिर्रा बस्ने उनकी भाइ बुहारी २७ वर्षीया सीता बस्नेत, कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा क्षेत्री (वसन्त ) रहेका छन् ।
यसैगरी अर्घाखाँची सन्धिखर्क ७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँका ५४ वर्षीय बलाराम भट्टराई, भूमिकास्थान नगरपालिका ९ का २७ वर्षीय शैलेश थापा, सन्धिखर्क १० का ५४ वर्षीय छविलाल गैरे, गुल्मी धुर्कोट २ घर भई हाल सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतकाे पहिचान खुलेकाे छ ।
मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा ७ का ३ महीनाका बालक शोभाकर पोखरेल, सनपा २ की ५९ वर्षीया सीताकुमारी सार्की, भुनपा ९ की ५० वर्षीया सीता घिमिरे, सोही ठाउँकै ५० वर्षीया विष्णुमाया गैरे, भुनपा ७ का ५१ वर्षीय मेघनाथ जैसी भण्डारी, शीतगंगा १ का १५ वर्षीया मन्जु विक, छत्रदेव गाउँपालिका ८ का ४२ वर्षीय कृष्णबहादुर सुनार, शीतगंगा ७ कल्लेरीका ४८ वर्षीय लोकबहादुर दर्जी, ५५ वर्षीय हरिबहादुर दर्जी र भुनपा ९ ठुलाडेबा बस्ने २२ वर्षीय शैलेश थापा रहेका छन् ।
सागुरो घुम्टीमा ओभरट्याक गर्दा ब्रेक नलागेपछि दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । पौडेलका अनुसार सागुरो सडकको घुम्टी काट्न नसक्दा एक्कासी बे्रक लगाउँदा नलागेपछि सडकको छेउमा बस गयो, सडकको डिल भासिएर भीरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको बताए ।
उनले यस क्षेत्रको सडक फराकिलो बनाउन १० मंसीरबाट मोडहरू कटिङको काम शुरु गरिएको बताए । घाइते १ जनाको बी। एण्ड बी। अस्पताल काठमाडौंमा, ६ जनाको चौराहा अस्पताल प्रालि बुटवल र ९ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । घाइतेमध्ये २ जना उपचारपछि घर फर्किएका छन् ।
घाइते हुनेहरूमा अर्घाखाँची सनपा ५ वाङलाका ४२ वर्षीय विष्णुबहादुर अधिकारी, सनपाका ६० वर्षीय नन्दबहादुर विक, सनपा ६ का ३ वर्षीय रिजन कुवर, सनपा ६ खाँचिकोटका गणेश पुरी, २३ वर्षीया सपना कुवर, सनपा २ की २५ वर्षीया अंकिता पौडेल, पाणिनी ७ का ४१ वर्षीय कृष्ण बिक, ३५ वर्षीय विष्णु विक रहेका छन् ।
यसैगरी घाइते हुनेमा भुनपा ९ डेवाका २५ वर्षीय जीवन विक, सनपा ५ वाङलाका ३७ वर्षीय हुमबहादुर अधिकारी, सनपा ८ का २५ वर्षीय कमल मुखियाँ, सनपा ४ की २३ वर्षीया सरस्वती भट्टराई, १५ वर्षीय अंकित थापा, कपिलवस्तु बाणगंगाका ३ वर्षीय स्पर्श पोखरेल, २४ वर्षीया विमला पोखरेल र दाङ जिल्ला राप्ती गाउँपालिका ९ का ३३ वर्षीय प्रशान्त सुवेदी रहेको प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा पटक पटक दुर्घटना बढेकाले सडकको स्तरोन्नति गर्न स्थानीयले माग गरेका छन् । निर्वाचनताका नेताहरूले सडक निर्माण गर्ने वाचा गरेर भोट तानेपनि साँघुरो सडकका कारण दैनिकजसो दुर्घटना हुँदा समेत यस दुर्घटनाग्रस्त क्षेत्रमा बेलैमा सडक बनाउन चासो नदिएको उनीहरूको गुनासो छ ।
उनीहरूले चालकको लापरवाहीलाई रोक्नु पर्ने, गाडीको गति कम गर्नुपर्ने, योग्य अनुभवी चालकलाई मात्र सवारी साधन चलाउन दिनुपर्ने, सडकका घुम्टी मोडहरू काटेर सडक तत्काल फराकिलो बनाउन सम्बन्धित निकायसमक्ष माग समेत गरेका छन् ।
दुर्घटना बढेपछि सडक डिभिजन कार्यालय शिवपुरले घुम्टी कटिङको काम शुरु गरेपनि अझै पूरा हुन नसक्दा यात्रा निकै जोखिमपूर्ण रहेको छ ।