च्याम्पियन्स लिगमा रियल मड्रिडको उत्कृष्ट प्रदर्शन, प्रि-क्वार्टर फाइनल प्रवेश
च्याम्पियन्स् लिगको समूह चरणको अन्तिम खेलमा रियल मड्रिडले पीएसजी विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।
खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको मड्रिडले बलियो पीएसजी विरुद्ध नै उत्कृष्ट प्रदर्शन गर्यो । मंगलबार राति सकिएको खेलमा पीएसजी विरुद्ध पहिलो हाफमै मड्रिडले अग्रता लिएको थियो ।
खेलको १७औं मिनेटमा करिम बेञ्जिमाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए । बेञ्जिमाले दोस्रो हाफको ७९औं मिनेटमा फेरि अर्को गोल गर्दै पीएसजी विरुद्ध २–० को अग्रता बनाए ।
तर, खेल अवधिभर हाबी भएको मड्रिड विरुद्ध कलिन एम्बाप्पेले ८१औं मिनेटमा गोल फर्कायो । यसको दुई मिनेट नबित्दै पाब्लो साराबियाले पीएसजीका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।
दुवै पक्षबाट थप गोल हुन सकेन । पीएसजीले संघर्षपूर्ण बराबरी गरे पनि दुवै टीम प्रिक्वाटर फाइनलमा भने पुगेको छ । पीएसजीले पाँच खेलबाट १३ अंक जोडेको छ भने मड्रिडले समान खेलबाट आठ अंक जोडेको छ ।