रिपोर्ट मंगलबार, मंसिर १०, २०७६

गढीमाई मेला शुरु, ८० लाख दर्शनार्थी आउने अनुमान

हिमालखबर

–जियालाल साह, पर्सा

पाँच\पाँच वर्षमा हुने गढीमाई मेला बाराको बरियारपुर स्थित गढीमाई मन्दिर क्षेत्रमा १ मंसीरदेखि शुरु भएको छ ।

गढीमाई मेला मनोकामना पूरा हुने आकांक्षाले एकै पटक सबैभन्दा बढी बलि दिइने मेला पनि हो ।

हजारौं पशुलाई बलि दिने र लाखौं मानिस मेलामा आउने भएकाले यो मेला व्यवस्थापन गर्न पनि उत्तिकै चुनौतीपूर्ण हुने गरेको छ ।

गढीमाईले मनोकामना पूरा गर्ने विश्वासका साथ यहाँ बलि दिन र दर्शनका लागि भारतबाट पनि लाखौँ दर्शनार्थी आउने गर्छन् ।

यस वर्ष पनि करीब ८० लाख दर्शनार्थी मेलामा आउने समितिले जनाएको छ । प्रसिद्ध गढीमाईको मेलामा आउने आगन्तुकका कारण यो वर्ष नेपाल सरकारले लिएको पर्यटन वर्षमा ‘२० लाख पर्यटक’ लक्ष्यमा समेत टेवा पुग्ने गढीमाई व्यवस्थापन समितिको भनाइ छ।

मेलामा भारतबाट मात्र नभई पछिल्लो समयको अध्ययनले नेपाल, चीन बाहेक १८ मुलुकका पर्यटक वृत्तचित्र, समाचार संकलन तथा घुम्ने उद्देश्यले आउने गरेको समितिको भनाइ छ ।

यस अघिको मेलामा अष्ट्रेलिया, म्यानमार, चिली, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भूटान, अमेरिका, जपान, जर्मनी लगायतका पर्यटकहरू समेत आएको समितिमा आबद्ध सदस्यहरूले बताए ।

विश्वमै चर्चित फोटोग्राफरदेखि ठूल्ठूला मिडियाहरूको समेत ध्यान तान्न सफल गढीमाई मेला यसवर्ष जनकपुरमा लाग्ने विवाह पञ्चमी मेलासँगै परेकाले पनि मेलामा पहिलाको तुलनामा यसवर्ष भक्तजनको संख्या बढ्ने मेला समितिका महासचिव मोतिलाल कुशवाहाले दाबी गरे ।

गढीमाईमा किन आउँछन् बढी मान्छे ?

यो प्रश्नको ठोस जवाफ समितिसँग छैन । तर, मेलाका मुख्य पुजारी शिव चौधरी भने गढीमाईप्रतिको आस्था र विश्वास नै मुख्य भएको बताउँछन्।

गढीमाईकै नामले देशभित्र र छिमेकी मुलकमा समेत विभिन्न गाउँमा गढीमाईको मन्दिर स्थापना पनि गर्न थालिएको छ । तर, मुख्य मन्दिर बाराको महागढीमाई नगरपालिकामा रहेको गढीमाई मन्दिर नै हो ।

यसकारण समेत उक्त समयमा गढीमाईको आस्था विश्वास राख्ने लाखौँ श्रद्धालु भक्तजनको उपस्थिति हुने गरेको छ । स्वच्छ मनले इच्छाएको भाकल पूरा भएपछि आ–आफ्नो आस्था अनुसार गढीमाईमा परेवा, कुखुरा, हाँस, बोका, भेडा, राँगा, मुसा लगायतको बलि दिने चलन रहिआएको समिति जनाउँछ ।

गढीमाईमा दर्शनार्थीको उपस्थिति हुनुमा अर्को रोचक रहस्य पनि छ । त्यो हो विधिवत पूजा । योसँगै गढीमाईमा दिइएको बलि र बलि दिंदा निस्किएको रगतमा झिंगा बस्दैनन् भन्ने अर्को रोचक भनाइ पनि छ ।

महागढीमाई नगरपालिका पुग्ने मुख्य सडकदेखि सहायक तथा सामान्य हिंडडुल गर्ने सडक समेत अहिले मर्मत सम्भार हुँदै छन् ।

सीमाका गाउँदेखि गढीमाईसम्म पुग्ने नाकाका सडकहरू स्थानीय निकायको सहयोगमा मर्मत सम्भार भइरहेको स्थानीय पालिकाहरूले जनाएका छन् । मन्दिरको आफ्नै खर्चमा पनि सडकका काम हुँदै गरेका छन् ।

मेला व्यवस्थापनका लागि १४ उपसमिति

गढीमाई मेला शान्त तथा सुव्यवस्थित र दुर्घटना रहित बनाउन सडक, सुरक्षा, खानेपानी, मनोरञ्जन, सञ्चार, ट्राफिक व्यवस्थापन लगायत १४ वटा उपसमिति बनाई सोही अनुसार कार्य विभाजन गरिएको छ ।

यसवर्ष प्रदेश सरकारको समन्वयमा डीपीआर तयार गराई सोही अनुसार कार्य योजना अगाडि बढाइएको छ । समितिले आ–आफ्नो कार्ययोजना बनाएर मेलाका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

समितिले सरसफाइ सँगसँगै खानेपानीका लागि ३ सय स्थानमा चापाकाल, ५ सय शौचालय निर्माण तथा यसैगरी जाडोको मौसमका लागि निःशुल्क बासस्थानका लागि शिविर र दर्शनार्थीहरूलाई निःशुल्क खाना तथा पानीको व्यवस्था मिलाइएको समितिको भनाइ छ ।

गढीमाईको परिसरदेखि विभिन्न संवेदनशील ठाउँहरू तथा बाटो र सडकहरूमा सिसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसैगरी मेलामा सुरक्षा सँगसँगै कुनै घटना भइहाले एम्बुलेन्स तथा नेपाल प्रहरी र जनपद प्रहरीको सेवा तुरुन्त दिन २४ सै घण्टा सुरक्षाकर्मी खटाइएका छन् ।

मेलामा सादा पोशाकका प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए । मेलामा आउने विशिष्ठ ब्यक्तिको सुरक्षाका लागि भने नेपाली सेना परिचालन गरिने उनको भनाइ छ ।

खर्चको जोहो तीनवटै सरकारको टाउकोमा

मेलामा हुने खर्च व्यवस्थापनका लागि मेला समितिले संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा खर्चको जोहो गरेको छ । ६० हजार बलि चढ्ने र सोको केही खर्च मेलामा लगाइएको विभिन्न कर सँगसँगै संघ, प्रदेश र स्थानीय निकायसँग उठाएको छ महासचिव कुशवाहाको भनाइ छ ।

बलिकाे विकल्प

बलिका लागि प्रसिद्ध गढीमाईमा बोकाका लागि ४ हजार र राँगाको ८ हजार तिरे बलि दिनु नपर्ने गरी प्राप्त रुपैयाँ मन्दिरकै विकासका लागि लगाइने मेला समितिका महासचिव कुशवाहाले बताए । बलिविना पनि भाकल पूरा गर्न सकिने समितिले ठहर गरेको छ ।

मेलाको फोहोर व्यवस्थापन चुनौती

दलित अगुवाहरूले सिनो बहिष्कार गरेपछि त्यसको व्यवस्थापन गर्न मेलालाई हम्मे हम्मे परेको छ । समितिको मुख्य दायित्व पनि सरसफाइ हो ।
बलिको दुई दिनपछि समितिले सिनोको व्यवस्थापन गर्दछ । व्यवस्थापनमा लाखौँको खर्च हुन्छ । यसका लागि समितिले विभिन्न छाला तथा हड्डी कारखानासँग समन्वय गरेको समितिले जनाएको छ ।

मेलाको आकर्षण

मंसीर १७ गते राति पूजा, १२ बजे मुख्य साइत, ब्रह्म स्थानमा पञ्चबलि, सोही दिन पुजारी दुःखा धामीले नरबलीको रूपमा आफ्नो जिब्रो छेडेर निकालेको रगत चढाइने यो वर्षको आकर्षण मानिएको छ ।

मेलामा १७ गते राँगा बलि र १८ गते हाँस, कुखुरा, बोका लगायतको बलि दिने आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस