देउवाको अभिव्यक्तिप्रति नेकपा नेताहरुको कडा आपत्ति, श्रेष्ठ भन्छन्– निन्दाले पुग्दैन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा दिएको अभिव्यक्तिप्रति सत्तारुढ नेताहरुले आपत्ति जनाएका छन् ।
उपनिर्वाचन सभा सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै कालापानी क्षेत्र अतिक्रमण गरी भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको आरोप लगाएका थिए ।
आइतबार पोखरा नै पुगेका सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सभापति देउवाको अभिव्यक्ति खण्डन मात्रै गरेका गरेनन् ।
राष्ट्रियताको सन्दर्भमा नझुकेको बताउने प्रवक्ता बाँस्कोटाले उल्टै सभापति देउवालाई आरोप लगाएका छन् ।
प्रवक्ता बाँस्कोटाले नाकाबन्दीका बेला बोल्न नसक्नेले निर्वाचन आएकाले निन्दनीय कुरा गरेको बताए । उनले भने, “हिजो नाकाबन्दीका बेला म्याउँ गर्न नसक्नेले अहिले निर्वाचन आयो भन्दैमा ढाडे बन्ने ?”
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सभापति देउवाको अभिव्यक्ति निन्दनीय भएको प्रतिक्रिया दिइसकेका छन् ।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् देउवाको अभिव्यक्ति जति निन्दा गरे पनि नपुग्ने बताएका छन् । उनले लेखेका छन्, “भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रम ओली माथि आरोपित गर्दै पूर्व प्रम देउवाले पोखरामा बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ ।”
श्रेष्ठले तात्कालिक तुच्छ स्वार्थका लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा जथाभावी बोल्नु घातक र अक्षम्य हुने उल्लेख गरेका छन् ।