चार दिन भारतीय नाका बन्द
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबार देखि चार दिनका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार आजदेखि मङ्सिर ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।
८ मंसीरमा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै शुक्रबार साँझ ५ बजेदेखि ९ मंसीर साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।
सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्र सिंह नेगीले बताए । भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि १६ असोजदेखि तीन दिन झुलाघाट नाका बन्द गरिएको थियो ।