मन्त्रीबाट हट्ने निश्चित भएसँगै सामान पोकाे पार्दै उद्योगमन्त्री
उद्योग, बाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादव मन्त्री निवासबाट बाहिरिने तयारीमा जुटेका छन् ।
बुधबार मन्त्रिपरिषद पुनर्गठनको तयारी भइरहेका बेला मन्त्री यादव मन्त्री निवासबाट निस्कने तयारीमा जुटेका हुन् । हिमाल खबरसँग मन्त्री यादवले भने, “मन्त्रीबाट हट्ने निश्चित भएपछि उहाँ बसिरहने कुरा भएन । सामानहरु पोको पार्दैछु ।”
नयाँ मन्त्री आउने मन्त्रीलाई सजिलो बनाउन चाडैं निस्कने तयारीमा लागेको उनले बताए । मन्त्री यादवले भने, “म यहाँ बसिरहँदा नयाँ मन्त्रीलाई समस्या हुन सक्छ । त्यो भावना बुझिदिनुपर्छ ।”
प्रधानमन्त्रीलाई सजिलो बनाइदिन आफू हट्न तयार भएको उनले बताए । “मन्त्रीबाट अरु को–को हट्नु हुन्छ थाहा भएन । मेरो निश्चित हो ।”
प्रधानमन्त्रीकै चाहनामा आफू हट्न लागेको पनि उनले बताए । “मन्त्रीसँग काम गर्ने प्रधानमन्त्रीको योजना होलान् । त्यो अधिकार उहाँसँग छ”, उनले भने ।
मन्त्रिपरिषद् पुनर्गठनका लागि अहिले बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेको छ ।