रिपोर्ट मंगलबार, मंसिर ३, २०७६

जीर्णोद्धारको पर्खाइमा

हिमालखबर

–गाैरीबहादुर कार्की 

ऐतिहासिक र पुरातात्विक महत्वको मकवानपुर गढीका मुख्य बनोट, कोत घर, दरबार, मन्दिरहरूको उचित जीर्णोद्धार गर्न यथाशीघ्र पुरातत्व विभागको ध्यान जानुपर्दछ।

गाैरीबहादुर कार्की

मकवानपुर गढी प्रदेश–३ को अस्थायी राजधानी हेटौंडाबाट १६ किमी उत्तर पूर्व, १०१७ मिटर उँचाइको थुम्कोमा छ । त्यतिवेला शत्रुबाट सुरक्षित हुन यस्ता गढी (किल्ला) बनाइन्थे ।  

मकवानपुर पृथ्वीनारायण शाहको ससुराली हो । त्यतिवेला काठमाडौंको दक्षिणी सीमा मकवानपुर थियो । मकवानपुर लगायत पाल्पादेखि पूर्वमा पहाडी, भावर र तराईका भाग समेत विजयपुरसम्म नै राजा मणिमुकुन्द सेनको राज्य थियो ।

मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी राजकुमारी इन्द्रकुमारीसँग पृथ्वीनारायण शाहको विवाह १७९५ साल फागुनमा भयो । विवाहमा दुलही नपठाएकाले दुई वर्षपछि गौना लिन जाँदा विवाहमा दिएको गजमोतीको हार र एकदन्ता हात्ती दिन युवराज दिग्वन्धन सेन नमानेका कारणले वैरभाव भयो ।

पृथ्वीनारायण पनि विवाहमा दिइएका ती वस्तु नलिई दुलही नलैजाने भनी राजासँग विदा नभई फिर्ता भए । मकवानपुरसँगको गोरखाको सम्बन्ध त्यत्तिकैमा टुट्यो । मित्रता कायम रहन सकेन ।

मकवानपुर गढी । तस्वीरः नेउवासंघ, मकवानपुर

यो गढी सेन राजवंशको कीर्ति हो । ठूलो साम्राज्यका रुपमा रहेको सेन राज्यको राजधानी यही गढी क्षेत्र थियो । पाल्पाका राजा मणिमुकुन्द सेनले राज्य ठूलो भएकाले चार भाग लगाएका थिए ।

मकवानपुर उनको छोरा लोहाङ सेनको भागमा परेको थियो । त्यही वंशका तुला सेनले यो ऐतिहासिक गढी लगभग ४०० वर्ष अगाडि बनाएका थिए । पृथ्वीनारायणले विवाह गरेकी हेमकर्णकी पुत्री इन्द्रकुमारी उनकै वंशकी थिइन् ।

चारैतिरका राज्य जितेर काठमाडौंलाई नाकाबन्दी गर्ने क्रममा अंग्रेजलाई रोक्ने गोरखाको अभ्यान्तर मकवानपुरसँगको विवाहबाट सफल हुन सकेन ।

नाता टुटेको ससुराली माथि आक्रमण गर्न पृथ्वीनारायण बाध्य भए । हेमकर्ण सेनको मृत्युपछि दिग्बन्धन सेनको पालामा १८१९ सालको भदौ ९ गते मकवानपुर गढी गोर्खालीले विजय गरे ।

यो गढी जमीनको बनोट अनुसार डाँडाको टुप्पामा छ । यसको क्षेत्रफल पूर्व–पश्चिम ११५ मिटर र उत्तर–दक्षिण ३५ मिटर छ । भित्री दुई दरबार मन्दिर लगायत यो ऐतिहासिक र पुरातात्विक गढी चेप्टा कुँदिएका ढुङ्गाबाट बनेको छ ।

यसको प्रवेशद्वार उत्तरपश्चिमतर्फ रहेको छ । गढीको बीचमा वक्राकार पर्खालहरूद्वारा घेरिएको छ । यस्ता किल्ला नेपालका धेरै ठाउँमा पाइन्छन् । पहाडको थलीमा ठूला ठूला ढुङ्गा मानिसले बोकेरै गढी निर्माण गरेका हुन् । त्यो वेलाको निर्माण क्षमता स्तुत्य छ । 

२५ फिट अग्लो, ७ फिट चौडा र शत्रु प्रवेश गर्न नसक्ने गरी वरिपरि १० फिट गहिरो र दुई मिटर चाक्लो खाई (खाल्डो) रहेको छ । शत्रुबाट राजपरिवार र सेनाको रक्षा गर्न यो गढी बनाइएको थियो ।

गढीको भित्री भागमा एउटा कोत घर र अर्को दरबार गरी २५.७X९.१० मिटरका दुई ठूला भवन रहेका थिए । हाल छाना भत्केर घरको गारोको भाग मात्र बाँकी छ । ढुङ्गाको पाँच फिट चाक्लो गारो अझै साबुत अवस्थामा छ । दुईतिर ८.९०X३.०० मिटर आकारका वर्गाकार खुला ट्याड्ढी वर्षाको पानी जम्मा गर्न बनाइएका रहेछन् ।

मूल ढोका प्रवेशसँगै पूर्वतर्फको भवनको पश्चिम सिमानामा बालगोपालको मन्दिर रहेको छ । जसमा स्वर्ण जलप लगाइएको धातुको मूर्ति रहेको छ ।

जसको शिरोभाग नै चोरी भएपछि २०६४ फागुन २३ मा अर्को प्रतिस्थापन गरिएको छ । पश्चिमतर्फ महादेवको मन्दिरमा प्रस्तरको शिवलिङ्ग रहेको छ । पछिल्लो समय सुरक्षाको अभाव हुँदा त्यहाँका धेरै वस्तु हराइसकेका छन् ।

मकवानपुर गढीको भत्केको दरबारको अवस्था ।

यो किल्ला भारतमा अंग्रेजहरूको शासन शुरु भएपछि, तोप अनि बन्दूकको आविष्कार भइसकेपछि बनेको देखिन्छ । गढीको माथिल्लो भागबाट बाहिर गोली हान्ने तथा बाहिरबाट आएको बम र गोली रोक्न, छल्न ज्यामितीय दृष्टिले बनाएको देखिन्छ ।

मकवानपुरकै चिसापानी र हरिहरपुर गढी; उदयपुरको चौदण्डी गढी; दैलेखको सदरमुकाममा पनि यस्तै शैली र ढाँचाका ढुङ्गे गढी रहेका छन् । यो र ती गढीको बनावट हेर्दा उच्चस्तरको इन्जिनियरिङ शिल्प देखिन्छ । गढीको पर्खाल र कुना, शत्रु चढ्न नसक्ने, गोली, बम छेक्ने तथा पर्खालको आड लिने प्वाल प्रतिरक्षात्मक हिसाबले उच्चस्तरको देखिन्छ ।

गाउँपालिकाले भर्खरै गढीको संरक्षण थालेको रहेछ । यसक्रममा पैदल बाटोमा सिंढी बनाइएको छ । घेरा बारा गरिएको छ । ठाउँ–ठाउँमा बस्ने बेन्च, फोहोर फाल्ने बक्सा राखिएको छ । प्रवेश टिकट घर बनाइएको छ । गढी जाने मार्गमा सङ्ग्रहालय भवन तयार हुने अवस्थामा छ ।

पर्यटक स्थलको रुपमा विकास गरी आय आर्जनतिर दृष्टि केन्द्रित छ । फूलका बिरुवा लगाइएकाले त्यहाँको सौन्दर्य वृद्धि भई विदाको दिन दर्शनार्थीको भीड हुँदोरहेछ ।

संरक्षणका क्रममा गढीभित्र रहेको पुरातात्विक महत्वका दुई दरबार भत्किसक्दा पनि जीर्णोद्धार गर्न यथेष्ट ध्यान दिएको देखिएन । त्यसैगरी पूर्व दक्षिण भागमा रहेको सानो बुर्जाघर पनि भत्किसकेको छ । 

ढीको मूल पर्खाल र अन्य स्थानमा उम्रिएका घाँसपात, बिरुवा जरैदेखि उखेलेर सफा गर्नु आवश्यक छ । यतातिर गाउँपालिकाको ध्यान जानु जरुरी छ । त्यस्तै यो ऐतिहासिक र पुरातात्विक महत्वको गढी तथा गढीका मुख्य बनोट कोत घर, दरबार, मन्दिरहरूको उचित तवरले जीर्णोद्धार गर्न पुरातत्व विभागको ध्यान जानुपर्दछ ।

मकवानपुर गढीको भत्केको दरबारको अवस्था (तल पनि) ।

 

 

प्रतिकृया दिनुहोस