टिप्पणी शुक्रबार, कात्तिक २९, २०७६

सम्पदा भत्काउँदै सडक

हिमालखबर

–सोनाम छोक्यी लामा, डोल्पो

डोल्पोमा बनिरहेको नयाँ राजमार्ग पदयात्रीका लागि खुशीको खबर बनिरहेको छैन।

तस्वीरहरुः सोनाम छोक्यी लामा

पश्चिम उत्तरी नेपालको सुक्खा पहाडहरूले घेरिएको धो उपत्यकामा याकका घाँटीमा बाँधिएको घण्टी र ध्वजाका आवाज मात्र सुनिन्थ्यो । तर, अब त्यहाँ इन्जिनको आवाज पनि थपिएको छ । 

एकताका शान्त यो उपत्यकामा अहिले चिनियाँ मोटरसाइकलहरू धुलो उडाउँदै दौडेका भेटिन्छन् । स्काभेटरका पहाडै थर्किने आवाजको गर्जन पनि सुनिन्छ ।

लाग्छ, अब चाँडै सुमो पिकअपहरू पनि यहाँ आइपुग्न बेर लाग्नेछैन, किनकि सदरमुकाम दुनै भर्खरै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । हालै नेपालको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिङफिङले ‘भूपरिवेष्टितबाट भूजडित राष्ट्र हुने नेपालको चाहनामा सहयोग गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालबाट हिमालयपारि चीनसम्म सडक निर्माणको कुरा पनि गरेका छन् । यसका लागि डोल्पोको यो भूमि ‘उत्तम’ कडी हुने छाँट पनि देखिन्छ ।

तराईदेखि हिमाल पार चीनसम्म जोड्ने कालीगण्डकी करिडोर नेपालको प्राथमिकतामा परेको सडकमध्येको एक हो । यो सडक मुस्ताङदेखि चिनियाँ सीमा कोराला चेकपोष्टसम्म पुग्छ । तिब्बती सीमा मरिम पासबाट दुनैसम्मका लागि बनाइएको नयाँ सडकले अहिले धो र छार्खा टेकिसकेको छ ।

सडकको केही अंश त अहिल्यै मोटर चलाउन मिल्ने खालको छ । मोटरसाइकलहरू धूलो उडाउँदै ठूलो आवाजसहित पदयात्री अघिअघि दौडन्छन् । तर, यो बाटो बनेकोमा पदयात्री मात्र होइन, लज सञ्चालकहरू पनि खुशी छैनन् ।

“मोटरसाइकलहरू अत्यन्त तीव्र गतिमा झर्काे लाग्ने गरी दौडन्छन् । स्कूले बालबालिका र बूढाबूढीका लागि यसले जोखिम निम्त्याइरहेको छ ।

मलाई लाग्छ, कुनै दिन यसले कसैको ज्यान नै लिनेछ”, सित्चो गुम्बाका भिक्षु तेञ्जिन गुरुङ भन्छन् । तर, यहाँका एक युवा व्यापारी भने उत्साहित छन् । सडक बन्यो भने बजारसम्मको पहुँच वृद्धि हुनेछ र खाद्यान्नको मूल्य पनि घट्ने उनको तर्क छ ।

चुम, मनाङ र मुस्ताङमा पनि तीव्र गतिमा सडक निर्माणको होड चलेको छ । सडकसँग नजोडिएको अन्तिम जिल्ला डोल्पा नै थियो । तर, अब सडक जोडिएपछि लाग्छ, यहाँको जस्तो नाटकीय परिवर्तन अन्यत्र हुनेछैन । 

मो ला पास (५०२१ मी) डोल्पाबाट मुस्ताङ जाने प्राचीन व्यापारिक मार्ग हो । तर, यसैसँग जोडिएको भागमा स्काभेटरले पदयात्रा मार्ग पहिल्याउँदै बाटो सम्याइरहेको छ ।

“जोडले चल्ने चिसो हावाले चुनौती दिइरहेको छ, डिजल पनि मुस्ताङको मुलेबाट खच्चडमा बोकाएर ल्याउनु परिरहेको छ”, स्काभेटर चालक पदमबहादुर भन्छन् ।

आयआर्जनका लागि पदयात्री समूहमा भर पर्नेहरू भने सडकको विरोध गरिरहेका छन् । सडक बनाउने नै हो भने पनि पुराना व्यापारिक र पदयात्रा मार्ग मास्न नहुने उनीहरूको अनुनय छ । तर, यसको सुनुवाइ हुने सम्भावना न्यून छ ।

वास्तुकलाविद् सोनाम लामाले आफ्नो पुर्ख्याैली थलो चुम उपत्यकासम्म बाटो पुग्न नदिन ठूलो संघर्ष गरे । तर, उनले भनेर केही भएन । “अझै पनि समय छ, यी पदमार्ग मासेर ठूला सडक बनाउनुहुँदैन, मोटरका लागि वैकल्पिक बाटो बनाउनुपर्छ”, उनी भन्छन् । 

अहिले डोजरहरूले पवित्र छोर्तेन र मणिका भित्ताहरू जोतिरहेका छन् । स्काभेटर चालक स्वयं चार्खावासीलाई अवरोध पुर्‍याएका कारण आफूले एउटा मणिको भित्तो एक ठाउँबाट अर्को ठाउँमा सारेको बताइरहेका थिए ।

कतिपय गाउँले भने, डोल्पोले सम्पदा संरक्षणमा कागवेनीको अनुसरण गर्नुपर्ने बताउँछन्, जहाँ सम्पदाहरू जोगाउँदै विकास कार्य गरिएको छ । तर, डोल्पोले त बाँकी नेपालको जस्तै गल्ती गरिरहेको छ । स्थानीय वा संघीय सरकारहरूले सामान्य निगरानी गर्दा मात्रै पनि डोल्पोमा धेरै छिटोछिटो धेरै कुरा परिवर्तन भइरहेको देख्न सक्छन् ।

कागवेनीस्थित मुक्तिनाथ होटलका सञ्चालक रामप्रसाद शेरचन डोल्पोमा सडक बनाउन पदमार्गलाई नै रोजिएकोमा आश्चर्य मान्छन् । “सडक गाउँ हुँदै किन लगियो, पवित्र स्थलहरू किन भत्काइयो भन्ने कुनै कारण नै भेटिन्न”, शेरचन भन्छन् ।

 

प्रतिकृया दिनुहोस