प्रदीप ज्ञवालीको भूमिका थपिने, विष्णु पौडेल र सुरेन्द्र पाण्डे मन्त्री !
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका सवै सदस्यले राजीनामा बुझाइ सकेका छन् । २२ कात्तिकमा प्रधानमन्त्री ओलीले दिएको निर्देशनअनुसार, सचिवालयका सवै सदस्यले राजीनामा बुझाएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक नेताका अनुसार, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार असगर अली, प्रेस संयोजक चेतन अधिकारी लगायतले राजीनामा बुझाएका छन् ।
स्रोतका अनुसार, राजीनामा दिने मध्ये केहीको राजीनामा स्वीकृत हुने छैन भने बाँकी सवैको स्वीकृत गर्ने तयारी छ । नेकपाका एक नेता राजीनामा दिने मध्ये केही भने फेरि पनि सचिवालयमा रहने बताउँछन् । “सन्तोषजनक काम नगर्नेहरुलाई हटाउन नै सवैलाई राजीनामाको निर्देशन दिइएको हो”, उनी भन्छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस संयोजक चेतन अधिकारीलाई सचिवालयमै राख्ने तयारी छ । बाँकीलाई भने विदाई गरिनेछ ।
सचिवालयकै कारण आलोचित हुँदै आएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को जिम्मेवारी समेत हेरफेर गर्ने तर, सचिवालयकै लागि नयाँ व्यक्ति नियुक्त नगर्ने तयारी गरेको ती स्रोत बताउँछन् । स्रोतका अनुसार, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई थप शक्तिशाली भूमिका दिने तयारी छ ।
“प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयमा तानेर प्रमुख राजनीतिक सल्लाहकार र प्रवक्ताको समेत जिम्मेवारी दिने तयारी छ । यसो गर्दा प्रधानमन्त्रीलाई थप सचिवालयको आवश्यकता पर्दैन”, प्रधानमन्त्री निकट ती नेता भन्छन् ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत यसबारे कुरा गरिसकेका प्रधानमन्त्री ओलीले उपनिर्वाचन अगाडि नै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले महासचिव बिष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
यसो गर्दा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार मन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई लगायतको जिम्मेवारी फेरबदल हुन सक्छ ।
मन्त्रीहरुको जिम्मवारी हेरफेर र सचिवालयबारे प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग छलफल गरिसकेका छन् । नेकपाका नेताहरुले निकै पहिलेबाटै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउँदै आएका छन् ।