एमसीसीसँग नेपाल पराजित
नेपाल भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ ।
१९० रनको लक्ष्य पछ्याएको नेपाल ७६ रनमै अलआउट हुँदै ११३ रनले पराजित भयो । नेपालका सन्दीप जोरा १६, कुशल भुर्तेल १४, भीम सार्कीले १३ रन जोडे । कप्तान रोहितकुमार पौडेल ६ रनमै आउट भए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा नेपाल फराकिलो रन अन्तरले पराजित हुन पुग्यो ।
टस जितेर ब्याटिङ रोजेको एमसीसीले सात विकेट गुमाउँदै १८९ रन बनाएको थियो । एमसीसीका लागि गोडलम्यानले ५४ रनको अर्धशतकीय रन जोडे । एड योङले ४२ रन बनाएका थिए भने माइल्सले २९ रन जोडे ।
नेपालका लागि रासिद खानले तीन विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनास बोहोरा र सुशन भारीले समान एक÷एक विकेट लिए ।
नेपालले यू–१९ र सिनियर खेलाडी समावेश गरी टीम बनाएको थियो । एमसीसीले यसअगाडि यू–१९ सँग एक दिवसीय र सिनियर टीमसँग एक दिवसीय र तीन दिवसीय खेल खेलिसकेको छ । एमसीसी अब पोखरामा मुख्यमन्त्री एघार र पोखरा एघारसँग खेल्नेछ ।