आलमको बयान बिहीबार पनि लिइने
१२ वर्षअघिको रौतहटको राजपुर फरहदवा बम विस्फोट काण्डमा आरोपित नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान बिहीबार पनि लिइने भएको छ ।
मंगलबार र बुधबार गरी दुई दिन बयान लिइए पनि पूरा नभएपछि बिहीबार पनि लिइने भएको छ ।
पहिलो दिन मंगलबार सांसद आलमलाई न्यायाधीश दिपक ढकालको इजलाशमा ९ वटा प्रश्न सोधिएको थियो भने दोस्रो दिन बुधबार २५ प्रश्न सोधिएको छ ।
२०६४ चैत २७ मा राजपुरमा भएको बम विस्फोटको घटना नै ढाकछोप गर्न विस्फोटमा परी घाइते भएका सरुअठाका त्रिलोक प्रताप सिंह र ओसी अख्तर लगायतलाई जिउँदै गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका आलमको बयान दोस्रो दिन नसकेपछि बयानका लागि बिहीबार पुनः फेरि अदालतमा उपस्थित गराइने जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले बताएका छन् । बयान बिहीबार दिउँसोसम्म सकिने सम्भावना रहेको छ ।
सर्वस्वसहित जन्मकैदको माग गर्दै आलममाथि रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ । जिल्ला अदालत रौतहटमा दायर भएको ०७६ सीए ००९५ मुद्दा मा सरकारी वकिल कार्यालयले मुद्दामा आलमसहित एघार जनालाई प्रतिवादी बनाइएको छ ।
जिल्ला अदालतमा दायर गरिएको मुद्दामा प्रहरीले आलमलाई विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुर गरी तीन अभियोग लगाउँदै मुद्दा दर्ता गराएको हो ।
आलमको पक्षमा काठमाडौंबाट समेत कानून व्यवसायीहरू गौर आएका छन् । यसैगरी जिल्लाकै दुई दर्जनभन्दा बढी वकिल पनि आलमको पक्षमा बहसका लागि तयार रहेका छन् ।
अदालतमा उपस्थित भइरहे पनि आलमले सांसदको लोगो लगाइरहेका छन् । कर्तव्य ज्यान, विस्फोटक पदार्थ भण्डारण र प्रयोग तथा ज्यान मार्ने उद्योगमा छुट्टाछुट्टै अभियोगका तीनवटा मुद्दाका अभियुक्त आलमले सांसदको लोगो लगाउनु उचित नभएको अधिवक्ता आशिकराम कार्कीको भनाइ छ ।
आलमले लोगो लगाएरै अदालतमा बयान दिनु उचित नभएको बताउँदै अधिवक्ता कार्कीले संघीय संसदकै अवहेलना भएको पनि बताएका छन् ।
–सञ्जय मित्र