उपनिर्वाचनमा पनि बन्याे वाम गठबन्धन
आगामी १४ मंसीरमा हुने उपनिर्वाचनमा पनि वाम गठबन्धन बन्ने भएको छ ।
२०७४ मा तत्कालीन एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बीच गठबन्धन भएको थियो । यस बाहेक झापामा भने वाम र राष्ट्रिय प्रजातन्त्र पार्टी बीच पनि गठबन्धन बनेको थियो ।
यस पटक भने तत्कालीन एमाले र माओवादी केन्द्र बीच पार्टी एकता नै भइसकेको छ । एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चा सँग गठबन्धन गर्ने भएको छ ।
यी दुई बीच भएको सहमतिअनुसार, बाग्लुङ–२ (ख) मा हुने प्रदेशसभा र प्यूठानको ऐरावति गाउँपालिका–२, को वडाध्यक्षमा जनमोर्चाको उम्मेद्वार हुनेछ भने बाँकीमा नेकपाले उम्मेद्वारी दिनेछ ।
१७ कात्तिकमा नेकपाले यी दुई ठाउँ जनमोर्चाका लागि खाली छोडेको छ । जनमोर्चाले १९ कात्तिकमा बाग्लुङ–२ (ख) का लागि खिमबिक्रम शाहीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । बाँकी ठाउँमा नेकपाका उम्मेद्वारलाई मतदान गर्न जनमोर्चाले अपिल समेत गरेको छ ।
नेकपाले प्रदेशसभाका लागि बाग्लुङ जनमोर्चालाई छोडेर कास्कीमा हुने प्रतिनिधिसभा निर्वाचनमा विद्या भट्टराई, भक्तपुर–१, (ख)मा देवप्रसाद ढकाल, दाङ–३ (ख)मा बिमला वलीलाई टिकट दिएको छ भने धरान उपमहानगर पालिकामा प्रकाश राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।