स्थानीय प्रशासनको अक्षमताले तनावग्रस्त कृष्णनगर
–बिक्रम खड्का, बुटवल
प्रहरीले चलाएको गोलीबाट एक युवाको मृत्यु भएपछि कपिलवस्तुको कृष्णनगर दिनभर तनावग्रस्त बनेको छ ।
स्थानीय प्रशासनले वार्ताका लागि गरेको प्रयास समेत सफल हुन नसक्दा अनिश्चितकालीन कर्फ्यू जारी नै छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रशासनको लापरबाही
लक्ष्मी पूजामा स्थापना गरिएको मूर्ति विसर्जन गर्न १३ कात्तिक राति ३० जना जतिको संख्यामा रहेका हिन्दू धर्मावलम्बीहरु कृष्णनगर खोलातर्फ जाँदै थिए । भजन गाउँदै खोलातर्फ अगाडि बढेको यो समूहलाई केही मुस्लिम युवाले रोके ।
बाटोमा मस्जिद पर्ने भएकाले अर्को बाटो भएर जान उनीहरुले आग्रह गरेका थिए । तर, झण्डै एक किलोमिटर टाढाबाट आएको हिन्दू समूहले मुस्लिम युवाहरुको आग्रह अस्वीकार गरे।
दुवै पक्ष अडानबाट पछि नहटेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आएपछि विवादले निकास लिने अवस्था समेत बन्यो ।
लक्ष्मीको मूर्ति बोकेर थोरै संख्या त्यही बाटो भएर जाने र बाँकी भने घुमेर खोला पुग्नेगरी सहमति जुटिसकेको थियो । यसबेला रातको १२ बज्नै लागेको थियो ।
तर, सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले १४ कात्तिकमा मात्रै मूर्ति विसर्जन गर्न निर्देशन दियो । दुवै पक्ष घर फर्किए ।
नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पछाई यसमा स्थानीय प्रहरी प्रशासनको कमजोरी देख्छन् । “संवेदनशील विषयलाई हल्का ढंगले लिन हुँदैनथ्यो”, उनी भन्छन्, “राति नै मूर्ति विसर्जन गर्ने वातावरण बनेको भए विवाद हल हुनसक्थ्यो ।”
राति जुटिसकेको सहमति १४ कात्तिकमा एकाएक भत्कियो । दुवै पक्षले यसलाई इगोको विषय बनाए । दुवैतर्फ प्रदर्शनकारी थपिए ।
प्रशासनले लगाएको अनिश्चितकालीन कर्फ्यू तोड्ने प्रयास भएपछि गोली चल्यो । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले धार्मिक हिंसा भड्किने खतरा भएकाले कर्फ्यू जारी गर्नुपरेको तर्क गरेका छन् ।
मृतक भारतीय नागरिक
प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ । कर्फ्यू तोडेर अगाडि बढेका सुरजकुमार पाण्डेलाई प्रहरीले चलाएको गोली लागेको हो ।
उनी भारतको सिद्धार्थ नगरका नागरिक भएको पुष्टि भएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शम्सेर जबराले वताए । तर, उनी केही वर्षयता कृष्णनगरमा चिया पसल गरेर बस्दै आएका थिए ।
वार्ता विफल
प्रहरीको गोली चले पछि वार्तामा बस्न दुवै पक्षले अस्वीकार गर्दै आएका छन् । स्थानीय प्रशासनले दिनभर सरोकारवाला पक्षसँग आग्रह गरे पनि वार्तामा बस्न अस्वीकार गरेका छन् ।
साँझसम्म पनि मृतक पाण्डेको शव कसैले बुझेका छैनन् भने विसर्जनका लागि लगिएको मूर्ति अलपत्र छ ।
प्रदर्शन नरोकिएपछि स्थानीय प्रशासनले सीमानाका बन्द गरेको छ ।
प्रहरीले गोली चलाउँदा कपिलवस्तुमा एक जनाको मृत्यु