प्रहरीले गोली चलाउँदा कपिलवस्तुमा एक जनाको मृत्यु
-बिक्रम खड्का, बुटवल
स्थानीय प्रशासनले लगाएको कफ्र्यु अवज्ञा भए पछि कपिलवस्तु प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर सुरज पाण्डेको मृत्यु भएको स्थानीयले जनाएका छन् । प्रहरीले भने मृत्यु भएको पुष्टि गरे पनि गोली कसले चलाएको हो भन्ने खुलाएको छैन ।
वुधवार भएको उक्त झडपले थप उग्ररुप लिएपछि बिहीबार कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले बताए । झडपमा परी केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधवार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर, पुर्व तर्फ ३ सय मिटरमा कफ्र्यु लगाइएको जनाएको छ ।
लक्ष्मी पुजाको मुर्ति बिसर्जनको विषयमा दुई समूह बीच विवाद बढ्दै गएपछि कृष्णनगर तनावग्रस्त बनेको छ ।