नामिबिया र पपुवा न्यू गिनी पहिलोपटक टी२० विश्व कपमा
नामिबिया र पपुवा न्यू गिनीले पहिलोपटक टी२० विश्वकप क्रिकेट खेल्ने भएका छन् । दुबईमा जारी छनौट प्रतियोगितामा नेदरल्याण्ड र आयरल्याण्डसँगै यी दुई देश पनि छनौट हुँदा अझै एसियाका एसोसिएट राष्ट्रले स्थान बनाउन सकेका छैनन् ।
मंगलबार राति भएको खेलमा ओमानलाई पराजित गर्दै नामिबिया पहिलोपटक टी२० विश्व कपमा छनौट भएको हो । पहिला ब्याटिङ गरेर नामिबियाले दिएको १६२ रनको लक्ष पछ्याउने क्रममा ओमानले १०७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । नामिबियाले यसअघि सन् २००३ को एक दिवसीय विश्व कप खेलेको थियो ।
यसअघि पपुवा न्यू गिनी समूह ‘ए’ को विजेता र आयरल्याण्ड समूह ‘बि’ को विजेता हुँदै विश्व कपका लागि छानिएका थिए । पपुवा न्यू गिनी कुनै पनि स्वरुपको विश्व कपमा पहिलोपटक छनौट भएको हो ।
यो प्रतियोगिताबाट छानिने छमध्ये चार टोली निश्चित भइसक्दा पनि एसियाका एसोसिएट राष्ट्रले स्थान बनाउन सकेका छैनन् । एसियाका ओमान, युएई, हङकङ र सिंगापुर यो प्रतियोगिताका लागि छनौट भएका थिए ।
ओमान, युएई र हङकङको अझै छनौट हुने संभावना छ । प्ले–अफमा युएई र स्कटल्याण्ड तथा ओमान र हङकङ प्रतिश्पर्धा गर्दैछन् ।
क्षेत्रीय छनौटमा नेपालविरुद्ध अप्रत्यासित जित निकाल्दै ‘ग्लोबल छनौट’ मा पुगेको सिंगापुर भने प्रतियोगिताबाट बाहिरिएको छ । सिंगापुरले छ खेलबाट चार अंक बटुल्दै समूह ‘बि’ का सात देशमध्ये छैटौँ स्थान ओगट्यो ।