प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा सम्पन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा सहभागी भएर आज आइतबार स्वदेश फर्किएका छन् ।
७ कात्तिकमा अजरबैजान गएका ओलीले ८ कात्तिकमा सम्मेलनलाई सम्बोधन गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले असंलग्न सदस्य राष्ट्रहरुको आपसी तनावलाई संवादका माध्यमबाट समाधान गर्दै विश्वव्यापी असमानता अन्त्यका लागि थप क्रियाशील हुनुपर्ने बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अत्यधिक लोभले वातावरणीय सङ्कट र सामाजिक द्वन्द्व निम्त्याएको भन्दै दिगो विकासका लक्ष्य पूरा गर्दै भविष्यका लागि पर्यावरण संरक्षणमा जोड दिनुपर्ने बताएका थिए ।
उनले आगामी अप्रिलमा हुने ‘सगरमाथा संवाद’को पहिलो कार्यक्रम जलवायु परिवर्तन र पर्वतीय अर्थतन्त्रमा केन्द्रित गरिने पनि सम्मेलनमा जानकारी गराएका थिए ।
सम्मेलनका क्रममा प्रधानमन्त्रीले भारतका उपराष्ट्रपति बेङ्कैया नायडु, पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र आयोजक राष्ट्र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।