आईपीएल अक्सनमा पारस खड्काको चर्चा
इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० को तयारी शुरु भएको छ । प्रत्येक टीमले गत सिजन भन्दा बजेट समेत बढाएर तयारी गरेको छ ।
बजेटको बढोत्तरीसँगै सवै टीमले राम्रो खेलाडी अनुबन्धित गर्ने तयारी समेत गरेको छ । यस पटक एसोसियट राष्ट्रका बिस्फोटक तीन खेलाडीमा सवै टीमको नजर परेको भारतीय सञ्चार माध्यमस्पोटर्स क्रिडाले विश्लेषण गरेको छ ।
फ्रेन्चाइजी खेलमा बिस्फोटक ब्याटिङ गरेका तीन ब्याट्सम्यानमा नेपालका निवर्तमान कप्तान पारस खड्काबारे समेत चर्चा गरेको छ । दोस्रो नम्बरमा खड्कालाई राख्दै लेखेको छ, “यी तीन खेलाडी आफ्नो टीममा पार्न करोडौं खर्च गर्न सक्छन् ।”
१. हेनरी जार्ज मुन्से
पहिलो नम्बरमा स्कटल्याण्डका हेनरी जार्ज मुन्सेलाई राखिएको छ । २६ वर्षीय ओपनर मुन्सेले गत महीना नेदरल्याण्ड बिरुद्ध ५६ बलमा १२७ रन जोडेका थिए । त्यस क्रममा मुन्सेले १४ छक्का र पाँच चौका प्रहार गरेका थिए ।
२. पारस खड्का
दोस्रो नम्बरमा नेपालका निवर्तमान कप्तानपारस खड्काको चर्चा गरिएको छ । दश वर्ष लामो कप्तानी भूमिकाबाट राजीनामा दिएका खड्काले ११ असोजमा मात्रै सिंगापुर बिरुद्धको खेलमा विश्व कीर्तिमानी ब्याटिङ गरेका थिए ।
खड्काले ५२ बलमा १०६ रन जोडे आईपीएलका सवैजसो टीमको नजर खड्का माथि गएको छ । सिंगापुर बिरुद्धको खेलमा लक्ष्य पछ्याउने क्रममा सतक गर्ने विश्वकै पहिलो कप्तानको कीर्तिमान बनाएका थिए ।
५० टी–२० खेलेका खड्काले एक सतक र सात अर्ध सतक गर्दै १२३.६३ को स्ट्राइक रेटका साथ १२२४ रन प्रहार गरेका छन् ।
३. हजरतुल्लाह जाजई
तेस्रो बिस्फोटक ब्याट्सम्यानका रुपमा अफगानिस्तानका हजरतुल्लाह जाजईलाई लिइएको छ ।
२१ वर्षीय युवा ओपनिङ ब्याट्सम्यान जाजईमाथि पनि आईपीएलका सवै टीमकै नजर परेको विश्लेषण गरिएको छ । जाजईले सन् २०१९ को शुरुमै आयरल्याण्ड बिरुद्धको टी–२० खेलमा ६२ बलमा १६२ रनको बिस्फोटक ब्याटिङ गरेका थिए ।