दुहबी–कटहरी ३३ केभी प्रसारण लाइनको काम ४५ दिन भित्रमा सक्ने सहमति
दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माण ४५ दिनभित्रमा सक्ने सहमति भएको छ ।
मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करीब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध हुँदै आएको थियो ।
अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरे लगायतसँग छलफल गरेका थिए ।
छलफलमा प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्र निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए ।
“यो प्रसारण लाइन बन्न नसन्दा मोरङका उद्योग तथा आम उपभोक्ताले गुणस्तरीय र परपर्दो विद्युत पाउन सकिरहेका छैनन्, त्यसैले विधि सम्वत् रुपमा समस्या समाधान गरी निर्माण तत्काल सुरु गरौं” उनले भने, “तारलाई भूमिगत गर्ने या अन्य विकल्प के के हुन्छन् प्राविधिक विकल्पको तत्काल खोजी गरी ४५ दिनभित्र काम सम्पन्न गरौं, यसका लागि सम्पूर्ण उपायहरु अपनाइने छ ।”
शुक्रबार भएको छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको प्रष्ट पारे ।
“लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध गर्यो भन्नेसम्मका गलत आरोप ममाथि लगाइयो, तर मैलै कोहीसँग पैसा मागेको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै सुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो” उनले भने, “यस्ता आरोपमा कुनै सत्यता छैन, लाइन निर्माण गर्न तत्काल सुरु गरौं यसमा मेरो पूर्ण सहयोग रहने छ ।”
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको भनेर नभनेको प्रष्ट पारे ।
ग्रामथाम गाउँपालिका अध्यक्षले प्रसारण लाइन निर्माणमा अवरोध नहुने बताए ।
प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा ३ किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । सबस्टेसन निर्माण भइसकेको छ । तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी संजालमा ल्याइने छ ।
अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सवस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । टंकिसिनबारी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन ।
दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या देखिँदैन ।