रिपोर्टबुधबार, २९ आश्विन , २०७६

भयावह बन्दै रेबिज

रामु सापकोटा

उपचारका लागि सामान्य रेबिज रोगकै कारण वर्षेनि मृत्यु हुने गरीब नागरिकको संख्या बढिरहेको छ। तर, सरकारले कुनै सरोकार देखाउन सकेको छैन।

कुकुरले टोकेर बिरामी भएको भन्दै लमजुङका १२ वर्षीय बालकलाई २१ भदौमा काठमाडौं, टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरियो ।

तर, रेबिज रोगका कारण अस्पतालमा नै उनको मृत्यु भयो । परिवारले अस्पताललाई दिएको जानकारी अनुसार, कुकुरले टोकेको २४ घण्टा जति पछि उनलाई नजिकैको क्लिनिकमा पुर्याइएको थियो । तर, ढिलो गरी ल्याएको भन्दै क्लिनिकका स्वास्थ्यकर्मीले रेबिज विरुद्धको सुई नै नलगाई फिर्ता पठाइदिएका थिए । त्यसको एक महीनापछि मात्र ती बालकलाई टेकू ल्याइएको थियो ।

रेबिजकै कारण १८ भदौमा स्याङ्जा, वालिङका ६५ वर्षीय वृद्धले ज्यान गुमाए । कुकुरले टोकेपछि उनी पनि घर नजिकैको फार्मेसीमा रेबिज विरुद्धको सुई लगाउन गएका थिए । तर, फार्मेसीवालाले केही हुँदैन भन्दै टिटानस विरुद्धको सुई लगाइदिए । उनी पनि त्यसको एक महीनापछि मात्र टेकूस्थित अस्पताल आइपुगेका थिए ।

१९ साउनमा टेकू अस्पतालमै ज्यान गुमाएकी सिन्धुपाल्चोक, मेलम्चीकी १८ वर्षीया किशोरीको मृत्युको कारण पनि रेबिज नै थियो । उनलाई पनि स्थानीय क्लिनिक सञ्चालकले टिटानस विरुद्धकै सुई लगाइदिएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्याङ्क अनुसार, यो वर्षको वैशाखदेखि १३ असोजसम्मको ६ महीनामा मात्र रेबिजकै कारण १६ जनाको मृत्यु भइसकेको छ ।

अस्पतालका मेडिकल अफिसर डा.श्रवणकुमार मण्डल बिरामी र क्लिनिक सञ्चालकको हेलचेक्र्याइँका कारण कुकुरको टोकाइबाटै ज्यान जानेको संख्या बढ्दो छ । “समयमा रेबिज विरुद्धको सुई लगाएको भए मात्र पनि कसैको ज्यान जाने थिएन”, मण्डल भन्छन् ।  

 आधा जनसंख्या उच्च जोखिममा

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आर्थिक वर्ष २०७४/७५ मा कुकुरको टोकाइबाट हुने रेबिज संक्रमणका कारण देशभर २० जनाले ज्यान गुमाएका थिए । तर, यो वर्ष ६ महीनाभित्रै १६ जनाको मृत्यु हुनुले मुलुकभर रेबिज भयावह बनिरहेको सङ्केत गर्छ ।

यता, दिगो विकासको लक्ष्य अनुसार, नेपालले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदर शून्यमा झर्ने लक्ष्य लिएको छ । तर, पछिल्ला वर्षहरूमा रेबिज संक्रमण र मृत्युको संख्या बढिरहेकाले लक्ष्य प्राप्ति असम्भव प्रायः देखिन्छ ।

स्वास्थ्य सेवा विभागका अनुसार, आ.व २०७१/७२ मा कुकुरको टोकाइबाट १७ हजार ३२० लाई रेबिज संक्रमण भएको थियो । तर, त्यसको तीन वर्षपछि आ.व. २०७५/७६ यो संख्या बढेर ३२ हजार ७९२ पुग्यो । (हे.इन्फो)

रेबिज तातो रगत भएका कुकुर, स्याल, हुँडार (उल्फ), मोङ्गोज नामक जङ्गली बिरालो आदिको टोकाइबाट लाग्छ । रेबिज भाइरस लागेको जनावरले टोक्दा र्‍यालको माध्यमबाट र रेबिज लागेको जनावरले घाउ वा चोटपटक लागेको ठाउँमा चाटेमा वा र्‍याल परेमा मानिसमा यो रोग लाग्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार, करीब ९९ प्रतिशत मानिसमा लाग्ने रेबिजको कारक संक्रमित कुकुरको टोकाइ नै हो ।

रेबिजकै कारण विश्वमा प्रत्येक वर्ष करीब ६० हजार मानिसको मृत्यु, र ३७ लाख अशक्त हुने गरेको पनि डब्लुएचओको तथ्याङ्क छ । मृत्यु र अशक्त हुनेमा पनि करीब ४५ प्रतिशत दक्षिण एशियाली छन् ।

स्वास्थ्य सेवा विभागका अनुसार, नेपालमा करीब आधा जति जनसंख्या रेबिजको उच्च र एक चौथाइ जनसंख्या मध्यम जोखिममा छ । रेबिजको समस्या सबैभन्दा बढी तराईका  जिल्लामा देखिंदै आएको छ । यस्तै, पहाडी जिल्लामा मध्यम र हिमाल क्षेत्रमा रेबिजको कम जोखिम छ । (हे.नक्शा)

रेबिज विरुद्धको उपचारमा प्रयोग गरिने एन्टी रेबिज भ्याक्सिन (एआरभी) को बढ्दो खपतले पनि रेबिजको भयावहतालाई पुष्टि गर्छ । ईडीसीडीका अनुसार, आ.व २०७४/७५ मा २ लाख ८१ हजार भायल एआरभीको खपत भएको देखाउँछ । (हे.इन्फो)

रेबिजबाट सबैभन्दा बढी बालबालिका प्रभावित हुने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार, रेबिज लाग्नेमा करीब ४० प्रतिशत १५ वर्षभन्दा मुनिका बालबालिका छन् ।

 कसरी जोगिने ?

कुकुर जस्ता रेबिज भाइरस सार्ने जनावरले टोकेर छालामा एक वा एकभन्दा बढी गहिरो घाउ भएमा वा रगत बगेमा तुरुन्त घाउ सफा गर्ने र चिकित्सकको सल्लाह बमोजिम रेबिज विरुद्धको खोप लगाउनुपर्छ ।

चिकित्सकहरू बहुला/शङ्कास्पद कुकुर र जङ्गली जनावरले टोकेमा सावधानी अपनाउन सुझउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बास्तोला जनावरले टोकेको घाउलाई तत्काल १० देखि १५ मिनेटसम्म साबुनपानी वा साबुन नभए पानीले मात्र भए पनि सफा गर्नुपर्ने बताउँछन् । त्यसपछि अस्पताल गएर रेबिज विरुद्धको सुई लगाउनुपर्छ । घाउ हुने वित्तिकै ७० प्रतिशत इथानोल अल्कोहल वा पोभिडोन आयोडिन लगाउन सकिने चिकित्सकहरूको सल्लाह छ ।

घरपालुवा कुकुरलाई वर्षमा एकपटक अनिवार्य रेबिज विरुद्धको खोप लगाउनुपर्ने पनि चिकित्सकको सुझव छ । डब्लूएचओले रेबिज रोकथामका लागि ‘मास भ्याक्सिनेसन’ (सबै कुकुरलाई रेबिज विरुद्धको सुई लगाउने कार्यक्रम) सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । तर, नेपालले अहिलेसम्म त्यस्तो कार्यक्रमलाई आवश्यक ठानेको छैन ।

डा.बास्तोला रेबिजका विरुद्ध लड्न स्पष्ट रणनीति आवश्यक भएको बताउँछन् । “संक्रमित व्यक्ति वा जनावरको पहिचान गरेर निदानको उपाय अवलम्बन गर्न स्वास्थ्य मन्त्रालयले पशु सेवा विभागसँग मिलेर तत्काल रणनीति जारी गर्नुपर्छ”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस