विश्वकप छनोटमा जोर्डनसँग पनि नेपाल पराजित
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
जोर्डनकै घरेलु मैदानमा पहिलो हाफसम्म शून्यको बराबरीमा खेलेको नेपाल दोस्रो हाफमा ३–० गोल अन्तरले पराजित हुन पुग्यो । ५६औं मिनेटमा दिनेश राजवंशीले फल गरेपछि पेनाल्टी मार्फत जोर्डनका लागि फरासले गोल गर्दै अग्रता लिएको थियो ।
दोस्रो गोल मोहमद अल इर्सनले ७८औं मिनेटमा गोल गरे भने ८८औं मिनेटमा बह फैसलले गोल गर्दै घरेलु टीम जोर्डनलाई जित दिलाएका थिए । नेपालले भने केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेन ।
अन्तिम समयमा अविशेक रिजाललाई मैदानमा छिराएको नेपालले हार टार्न सकेन ।
यसअघि नेपाल अष्ट्रेलियासँग ५–० र कुवेत सँग ७–० गोल अन्तरले पराजय भोगेको थियो । चाइनिज ताइपेईसँग भने नेपाल २–० गोल अन्तरले विजयी भएको थियो ।
नेपालले सबै अवे खेल सकेको छ । बाँकी सवै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।