खेलकुदमंगलबार, २८ आश्विन , २०७६

क्यानले फेरि कप्तान बनिदिनुपर्‍याे भन्यो भने ? ‘नाे, नाे। अब म खेलाडी मात्र रहनेछु’, पारस भन्छन्।

हिमालखबर

नेपाली क्रिकेट इतिहासले भोगेको सवै भन्दा दुखद् र अत्यन्तै खूशीको क्षणमा पारस खड्का साक्षी बने ।

सन् २००४ बाट राष्ट्रिय टीममा 'डेब्यू' गरेका पारसले डिभिजन ५ देखि एक दिवसीय राष्ट्रको मान्यता प्राप्त मुलुकका खेलाडी र कप्तान बनेर खेले । नेपाली क्रिकेट हिडेको घुम्तीहरुलाई कहिले नेतृत्व गरे, कहिले साथ दिए ।

क्यान निलम्वनमा परेपछि अभिभावक विहीन अवस्थामा पनि पारसकै कप्तानीमा नेपालले ओडिआईको मान्यता समेत पाए ।

२२ वर्षकै उमेरमा पाएको कप्तानी भूमिकाबाट भने धेरैलाई आश्चर्यमा पार्दै मंगलबार राजीनामाको घोषणा गरे । त्यो पनि सामाजिक सञ्जाल मार्फत् । हुन त सिंगापुर र ओमान टूर अगाडि नै नियमित उपकप्तान ज्ञानेन्द्र मल्लको ठाउँमा युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई अवसर दिएर पुस्तान्तरणको संकेत दिएका थिए ।

सामाजिक सञ्जालको राजीनामा बारे प्रष्ट पार्न पत्रकारहरु सामू उपस्थित पारसले प्रष्ट भने, “खेलाडीको प्रयासबाट यहाँसम्म आइपुगेको नेपाली क्रिकेटलाई अगाडि बढाउने उपयुक्त समय आयो । ती चुनौती पार गर्न नेपाल क्रिकेट संघ (क्यान)ले सही निर्णय लिनुपर्छ ।”

क्यानको नयाँ नेतृत्वलाई नयाँ योजना बनाउन सहज पार्न राजीनामा दिएको पनि उनले लुकाएनन् । तर, पत्रकारहरुको पटक–पटकको प्रश्नमा पारसले क्यानसँग नराम्रो सम्बन्ध नरहेको नै बताए ।

पत्रकार सम्मेलनका सवाल–जवाफको सम्पादित अंश ।

तस्वीरहरूः बिक्रम राई

पहिलो प्रश्न, एक्कासी राजीनामा किन ?
एक्कासी होइन । दश वर्षे कप्तानी भूमिकापछि क्यानको निलम्बन फुकुवा कुरिरहेको थिएँ । हिजो फुकुवा भयो । क्रिकेट समर्थक र खेलाडीहरुका लागि यो 'पोजिटिभ न्यूज' हो ।

हामी कहाँ को अध्यक्ष बन्यो ? कसले कति रन हान्यो ? जित्यो कि हार्यो भन्नेले बढी ध्यान तान्छ । नेपाल क्रिकेट अगाडि बढ्ने हो भने व्यक्तिभन्दा बाहिर निस्कनुपर्ने बेला आइसकेको छ ।

नयाँ लिडरसीप आएको छ । हामी अन द फिल्ड जति खेलाडी छौं । सबै मिलेर अगाडि बढ्नुपर्नेछ । आशा गरौं, सबैले आआफ्नै जिम्मेवारी पूरा गर्नेछौं ।

त्यस भए अबको कप्तान को ?
कप्तान को बन्छ भन्ने मेरो डिसिजन होइन । मलाई पनि कप्तान हुने जानकारी दिइएको थिएन । त्यसैले अब को कप्तान बन्छ भन्ने कुरा क्यानका पदाधिकारी र प्रशिक्षकले निर्णय लिनेछन् । तर, जो बने पनि नेपाल क्रिकेटको जित हुनुपर्छ । 

म कप्तान भएकाले नेपाली क्रिकेट यहाँ आएको होइन । म नहुँदा नेपाली क्रिकेट कता पुग्छ भन्ने पनि छैन । क्रिकेट हामी सबैकाे हाे भन्ने सोच्नुपर्छ । कप्तान, क्रिकेट खेलाडी र क्यानमा जो सुकै भएपनि नेपाली क्रिकेट कसरी अगाडि बढ्छ भन्ने हेर्नुपर्छ ।

कप्तानका रुपमा आफ्नो समीक्षा कसरी गर्नुहुन्छ ?
धेरै सन्तुष्ट छु । साथीहरुको सहयोग रह्यो । मेरो बलियो पक्ष साथीहरु हुन् । प्रशिक्षकहरुको साथ मिल्यो । जसरी पनि क्रिकेट अगाडि बढ्नुपर्छ भन्ने थियो । धेरै खुशी छु ।

नेपालका लागि खेल्ने मेरो त सपना पनि थिएन । तर, भाग्यमा अर्कै कुरा लेखिएकाे रहेछ । 

अब नेपाली क्रिकेटलाई अगाडि बढाउन खेलाडीको मेहनतले मात्रै पुग्दैपुग्दैन । सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । 

यतिबेलै राजीनामा किन ?
कस्तो अवस्था सिर्जना गरेर छोड्ने भनेर सोचेको थिइनँ । तर, अहिलेको वातावरण हेर्दा उपयुक्त लाग्यो । धेरैसँग कुरा गरेँ तर, निर्णय मैले लिनुपर्ने थियो । अहिले नयाँ नेतृत्व पनि आएको छ ।

नेगेटिभ कुरा कहिल्यै सकिदै‌न । तर, पोजिटिभ कुरा गर्दा आगामी दिन कसरी अगाडि बढाउने मात्रै हुन्छ । मैले २००४ मा राष्ट्रिय टीममा डेब्यू गरेँ र २००९ देखि कप्तान बने । नेपालको क्रिकेट यहाँसम्म आइपुगेको छ । नेपाललाई टेष्ट राष्ट्र बनाउन आगामी दिनमा सबै मिलेर अगाडि बढ्नुपर्छ।

कप्तानबाट राजीनामा, खेलाडीका रुपमा भने कस्तो योजना छ ?
क्रिकेट छोडिहाल्ने होइन । खेलाडीका रुपमा रहन्छु । बीचमा सेलेक्टर, मेन्टरसहित सबै जिम्मेवारी लिनुपर्ने अवस्था आयो । त्यसैले केही समय ब्रेक लिन चाहन्छु । नेपालका लागि अझै पनि खेल्ने इच्छा छ । क्यानले मलाई टीममा छनोट गरे देशका लागि खेल्छु ।

क्यानको नयाँ नेतृत्वसँग मतभेदका कारण त राजीनामा दिनुभएको त होइन ?
छैन । उहाँहरुसँग कुरा पनि भएको छैन । निर्वाचनका बेला हामी देशमा थिएनौं । विगत तीन/चार वर्षबाटै क्यानसँग हाम्रो कुरा पनि भएको छैन । आईसीसीसँग कुरा हुन्थ्यो ।

फेरि पारस खड्का भन्नासाथ नेपाल क्रिकेट होइन । व्यक्तिमा अल्मलिने हो भने हामी कहिल्यै अगाडि बढ्न पनि सक्दैनौं । तर, संघको नेतृत्व आएकाले अब काम गर्ने फोरम बनेको छ । पहिलेभन्दा अहिले धेरै कुरा छ ।

पदाधिकारी राम्रो भएर मात्रै टीम राम्रो हुन्छ भन्ने छैन । तर, टीम राम्रो बनाउनुपर्छ । संघले खेल र खेलाडीलाई प्राथमिकता दिनुपर्छ।

कप्तानमा आफू बाधक अनुभव चाँहि किन गर्नुभयो ?
मलाई फिल गर्ने राम्रो समय हो, व्यक्तिगत रुपमा । नयाँ सोच र संरचना अनुसार आएको छ । अब, पारस खड्का मात्रै कप्तान भएर, सन्दीप लामिछानेले मात्रै बलिङ गरेर ज्ञानेन्द्र मल्लले मात्रै रन जोडेर जित्छ भनेर कहिं पनि छैन ।

नयाँ लिडरले नयाँ सोच लिएर अगाडि बढ्नुपर्छ । मेरोतर्फबाट सहयोग हुन्छ । नेपाललाई चिनाउने अवसर छ । इमान्दारिता चाहिन्छ।

क्यानले भन्यो भने पारस फेरि कप्तान बन्छ ?
नो, नो । खेले पनि खेलाडीका रुपमा मात्रै मैदानमा हुन्छु । तर, कप्तानको भूमिकामा भने आजबाट खेल्दिन ।

युवालाई टीम राखेर पुस्तान्तरणको कुरा उठाउनुभयो । तर, क्यानको नयाँ नेतृत्वलाई अनुभवी कप्तान चाहिन्छ भन्ने लागेन ?
क्रिकेट अगाडि बढाउन हजार विकल्प लेखेर दिन सक्छु । टीमलाई जिताउन पनि सक्छु । तर, जिम्मेवारी मेरो मात्रै होइन । हिजो खेलाडीहरुको जोडजाडबाट यहाँसम्म आइपुग्यौं । अब मिलेर नेपाली क्रिकेटलाई अगाडि बढाउने समय आएको छ ।

कप्तानबाट राजीनामा सजिलो थियो ?
राजीनामा गर्न गाह्रो थिएन । निर्णय कुरिरहेको थिएँ । सबैभन्दा राम्रो खेलाडी नभए पनि इमान्दार व्यक्ति भएर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास गरेँ । 

समय चिन्नुपर्छ । नेपालको क्रिकेट अगाडि बढाउनुपर्छ । मेरो लागि राजीनामा धेरै नै सजिलो हो । भोलि जो कप्तान भएर आए पनि सल्लाह र साथ दिनुपर्छ ।

अब पारसले क्रिकेटलाई ‘मिस’ गर्छ कि क्रिकेटले पारसलाई ?
म क्रिकेटलाई मिस गर्दिन । कुनै न कुनै रुपमा क्रिकेटसँगै जोडिन्छु । क्रिकेटले के गर्छ भन्न सक्दिन । हिजो, सचिन तेन्दुलकर भन्थ्यौं, आज विराट कोहली भन्छौं । भोलि जे पनि हुन्छ । मेरो बारे पाँच मिनेटपछि के हुन्छ त्यो भन्न सक्दिन ।

हिजो इमान्दारिताले यहाँसम्म आइपुग्यौं । अब इमान्दारिताले मात्रै पुग्दैन । हामीले क्रिकेटर उत्पादन, एक्सपोजर र उनीहरुको जीवन सुरक्षा हेर्नुपर्छ । आज त क्रिकेट बोर्डको खातामा फण्ड पनि छ । मुख्य कुरा खेलाडी सुरक्षित नभएसम्म केही हुन्न । भोलि बोर्डको खातामा करोडौं होला । तर, टीम सक्षम छैन भने त्यसको फाइदा हुन्न ।

हामी हिजो क्रिकेट खेल्दा जसरी हुन्छ खेल्नुपर्छ भन्ने थियो । तर, अहिलेको उमेर समूहलाई हेर्दा उनीहरुले भविष्य सुनिश्चित गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा, फेरि पनि तपाइँको नजरमा नेपालको कप्तान को ?
अस्तिको टूरमा दीपेन्द्र उपकप्तान भयाे । तर, ज्ञानेन्द्र मल्ल सिनियर हुन् । तर, क्यानको निर्णयमा भर पर्छ ।

प्रतिकृया दिनुहोस