सी सवारी हुने सडकको प्रधानमन्त्रीबाट निरीक्षण
चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज सी सवारी हुने सडक निरीक्षण गरेका छन् ।
सरकारले कलात्मक सौन्दर्य सहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । यसबारे जानकारी लिन प्रधानमन्त्री ओली बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकको निरीक्षण गरेका थिए ।
प्रधानमन्त्रीका सचिवालयका अनुसार, भ्रमणका कार्यसूची लगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार सुनेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि राष्ट्रपति सी आज अपराह्न काठमाडौँ आउँदै छन् ।