नेपालसहित पाँच राष्ट्र सम्मिलित सिरिज आजबाट
टी–२० विश्वकप छनोटको तयारीमा रहेको चार राष्ट्र र नेपाल सम्मिलित सिरिज आजबाट शुरु हुँदैछ ।
नेपाल बाहेक ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड विश्वकप छनोट खेल्ने देशहरु हुन् । तर, नेपाल भने सिंगापुरसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरिसकेको छ ।
नेपालले यो सिरिजलाई एक्सपोजरका रुपमा लिएको छ । सिरिजको पहिलो खेल घरेलु टीम ओमान र हङकङ बीच भइरहेको छ । आजै अर्को खेल आयरल्याण्ड र नेदरल्याण्ड बीच हुनेछ । यो खेल दिउँसो १ः३० बजे शुरु हुनेछ ।
नेपालको खेल भने आइतबार मात्रै शुरु हुनेछ । विश्वकप छनोटबाट बाहिरिसकेको नेपाल यो सिरिज पछि स्वदेश फर्कनेछ भने अन्य टीम विश्वकप छनोट खेल्न दुबई जानेछन् ।