‘सापु’ बाट सावधानी
आँखाको ज्योति गुम्न सक्ने सापु रोगबाट बच्न सेतो पुतलीबाट टाढा रहनुपर्ने चिकित्सकहरू सुझाउँछन्।
बत्तीमा झुम्मिने पुतलीहरूमध्ये सेतो पुतली आँखाको लागि घातक हुन सक्छ । कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कमा आए सापु रोग लाग्ने र यसका कारण आँखाको दृष्टि नै गुम्न सक्ने चिकित्सकहरू बताउँछन् । यो रोगको पूरा नाम हो, सिजनल हाइपर एक्युट पनुभिआइटिस ।
भदौ पहिलो सातायता गण्डकी प्रदेशको पोखरामा सेतो पुतली देखिन थालेसँगै त्यहाँ सापुका बिरामी भेटिन थालेका छन् । पोखरासँगै बाग्लुङ, पर्वतका विभिन्न ठाउँमा सेतो पुतलीको समस्या देखिएको छ । सापु नेपालमा पहिलो पटक सन् १९७५ मा पोखरामै देखिएको थियो ।
भदौदेखि मंसीरसम्म सेतो पुतलीको प्रजनन् अवधि भएकाले वर्षायाम सकिने बेलामा सापुले बढी सताउने गर्छ । खासगरी पहाडी जिल्लामा देखिएको यो रोग ब्याक्टेरिया वा के कारणले लाग्छ भने हालसम्म पत्ता लाग्न सकेको छैन । सेतो पुतलीको सम्पर्कमा आएका मानिसमा यो रोग देखिएको पाइएकाले पुतली पनि एउटा कारण भएको अनुमान गरिंदै आएको छ ।
आँखाको ज्योति नै गुम्न सक्ने डरलाग्दो रोग भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस सम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिएको छैन । सापु रोगबारे अनुसन्धानमा संलग्न प्रा.डा.मदन उपाध्याय दक्ष जनशक्ति र बजेटको अभावमा सेतो पुतलीबारे पर्याप्त अनुसन्धान हुन नसकेको बताउँछन् ।
संक्रमण र लक्षण
सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौं आँखासम्म पुगेमा सापुको संक्रमण फैलिन सक्छ । संक्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्न सक्ने डा.उपाध्याय बताउँछन् ।
प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले तीव्र रूपमा असर गर्छ । यो सरुवा रोग भने होइन । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।
रोकथाम र उपचार
डा.उपाध्याय रोगको लक्षण देखिएको दुईदेखि चार घण्टाभित्र अस्पताल पुगेमा शल्यक्रिया विना औषधोपचार गरेर रोग निको पार्न सकिने बताउँछन् । त्यसैले लक्षण देखिए लगत्तै आँखा अस्पताल वा आँखा उपचार केन्द्र जानुपर्ने उनी सुझाउँछन् ।
उनका अनुसार सन् २०१७ मा गरिएको अनुसन्धानले सेतो पुतलीको सम्पर्कमा पुगेका ७० देखि ८० प्रतिशतलाई सापु रोग लागेको देखाएको थियो । त्यसैले सेतो पुतली भएको ठाउँमा जान नहुने र आफू बसेको ठाउँमा त्यस्तो पुतली आए सजग हुनुपर्ने डा.उपाध्यायको सुझाव छ । “हात वा शरीरका अन्य भागमा पुतली बसेमा वा छोइएमा सफा पानीले पखालिहाल्नुपर्छ”, उनी भन्छन् ।