पोखरामा पनि ‘मेरो घर’को सेवा
व्यावसायिक आर्किटेकहरूले शुरु गरेको ‘मेरो घर’ ले पोखरामा पनि सेवा शुरु गरेको छ ।
घरको नक्सा कोर्नेदेखि निर्माण सम्पन्न गरी प्रमाणपत्र लिनेसम्मका सबै एकीकृत सेवा दिने यो व्यावसायिक पहलले यसअघि काठमाडौंमा घर तथा भवन निर्माणसम्बन्धी सेवा दिँदै आएको थियो।
‘मेरो घर’ले घर तथा व्यावसायिक भवन निर्माणसम्बन्धी उचित प्राविधिक परामर्शका साथै निर्माण सामग्रीको आपूर्ति एवं निर्माण गर्दै आएको छ ।
“घर निर्माणसम्बन्धी आवश्यक परामर्श दिँदै निर्माणको सम्पूर्ण जिम्मेवारी सम्हाल्न काठमाडौं बाहिर पनि सेवा विस्तार गरिरहेका छौं,” मेरो घरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपिन गैरेले बताए ।
घरधनीले चाहे बमोजिमको घर बनाउन नक्सा कोर्ने, नक्सा स्वीकृति लिने, निर्माण सामग्री जुटाउने, घर निर्माण गर्ने, फिनिसिङ गर्ने तथा निर्माण सम्पन्न भएको प्रमाणपत्रसहित घरधनीलाई जिम्मा लगाउने काम ‘मेरो घर’ले गर्छ । घर निर्माण गर्दाको झन्झट हटाउन एकमुष्ट सेवा दिन मेरो घरको परिकल्पना गरिएको सीईओ गैरेको तर्क छ ।
“अनुसन्धानलाई र विकास (आरएण्डडी) लाई महत्व दिएकाले घर निर्माणमा इन्नोभेसन र इफिसियन्सी ल्याएका छौं,” उनी भन्छन् ।
नेपालमा घर निर्माण भन्ने बित्तिकै नक्सा बनाएर पास गर्र्ने, निर्माण सामग्रीको बन्दोबस्ती गर्ने एवं निर्माण गर्नेसम्ममा अनेक झन्झट खेप्नुपर्छ ।
त्यसमाथि, झ्याल–ढोका, पानी, बिजुली, धारा, बाथरुम, रङ आदिको बन्दोबस्तीमा उस्तै हैरानी हुन्छ ।
स्ट्रक्चरको डिजाइनमा धेरै ध्यान नदिँदा घरको टिकाउमा पनि प्रश्न उठ्छ । यी सबै अप्ठ्यारा र झन्झटबाट पार पाउँदै घरधनीले चाहे बमोजिमको गुणस्तरीय घर सस्तोमा निर्माण गर्न युवा इन्जिनियरहरूले चार वर्षअघि स्टार्टअपका रुपमा मेरो घरको अवधारणा अघि सारेका थिए ।