दूधकोशी जलविद्युत आयोजनाबाट हजार घरधुरी प्रभावित हुने
खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशी नदीमा सञ्चालन हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक हजार १५० घरधुरी प्रभावित हुने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले सोलुखुम्बुको सल्लेरीमा सार्वजनिक गरिएको सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) मा सो आयोजनाबाट सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गाका गरी एक हजार १५० घरधुरीमा क्षति पुग्ने उल्लेख गरिएको छ ।
खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट खोटाङको ६५७, ओखलढुङ्गाको ४७९ र सोलुखुम्बुको १४ गरी एक हजार १५० घरधुरी स्थानीयवासी प्रभावित हुने भएका हुन् ।
आयोजनाका लागि रभुँवाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोशी किनारमा १०, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबानमा पर्ने प्रतिवेदनमा जनाइएको छ ।
आयोजनाका कारण थुलुङदूधकोशीमा ड्याम निर्माण गरी ऐसेलुखर्कको जलेश्वरीमा पावरहाउस रहनेगरी निर्माण हुनलागेको २३० मेगावाट दूधकोशी जलेश्वर–२ आयोजनासमेत प्रभावित हुने जनाइएको छ । उक्त आयोजनाको पावरहाउस सार्नुपर्ने हुँदा अब ७२ मेगावाट मात्र विद्युत् उत्पादन हुने प्रतिवेदनमा उल्लेख छ ।