टेस्टका कान्छो कप्तानले पहिलो खेलमै जिताए
टेस्ट क्रिकेटमा सबैभन्दा कम उमेरमा कप्तान भएका रसिद खानले पहिलो खेलमा नै अफगानिस्तानलाई जित दिलाएका छन्। एक मात्र टेस्टमा अफगानिस्तानले बंगलादेशलाई २२४ रनले हरायो।
कप्तान खान एउटै टेस्टमा १० विकेट लिने पहिलो अफगानी बलर पनि भए। उनले पहिलो इनिङमा ५ र दोस्रो इनिङमा ६ गरी ११ विकेट लिए।
अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गरेको थियो। पहिलो इनिङमा १०२ रन बनाएका रहमत शाहले अफगानिस्तानका लागि टेस्टमा पहिलो शतकको रेकर्ड बनाए।
अफगानिस्तानले पहिलो इनिङमा ३४२ र दोस्रोमा २६० रन बनाएको थियो। दोस्रो इनिङमा ३९८ रनको लक्ष्य पछ्याएको बंगलादेश १७३ रनमै अलआउट भयो । बंगलादेशले पहिलो इनिङमा २०५ रन बनाएको थियो।
बंगलादेश भ्रमणमा निस्किनु केही दिनअघि मात्र अफगानिस्तानले रसिद खानलाई कप्तान नियुक्त गरेको थियो। गत १९ भदौमा बंगलादेशका कप्तान सकिब अल हसनसँग टसका लागि मैदान प्रवेश गर्दा खान २० वर्ष ३५० दिनका थिए।
खानले जिम्बाब्बेका पूर्वकप्तान टटेन्द्र टाइबुको रेकर्ड ८ दिनले मात्र तोडेका हुन्। टेस्टमा कप्तानी गरेर मैदान उत्रिँदा टाइबु २० वर्ष ३५८ दिनका थिए।
खान टेस्ट जिताउन कम उमेरका कप्तान पनि भए। त्यस्तै पहिलो कप्तानीमै ‘म्यान अफ द म्याच’ पनि भए।
यसअघि विश्वकप क्रिकेट प्रतियोगिताको मुखैमा कप्तान अस्गर अफगानलाई हटाउँदै तीनवटा फर्म्याटमा अफगानिस्तानले तीन कप्तान बनाएको थियो। त्यतिवेला खान टि ट्वान्टी कप्तान नियुक्त भएका थिए।
उनले अहिले रहमत शाहलाई विस्थापित गरेका हुन्। रहमत शाहलाई टेस्त कप्तान घोषणा गरिए पनि कुनै पनि खेलमा कप्तानी गर्न नपाई बर्खास्तमा परे।
यसअघि पहिलो २ टेस्टमा अस्गर अफगानले कप्तानी गरेका थिए। उनले आरल्याण्डसँगको एक मात्र टेस्ट जिताएका थिए।