अमेरिकाद्वारा तालिबानसँगको वार्ता रद्द
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँग तय गरेको शान्ति वार्ता रद्द गरेका छन्। ट्रम्पले ट्विट गर्दै अमेरिकाको क्याम्प डेविडमा आइतबार तालिबान नेताहरु र अफगान राष्ट्रपतिसँग गोप्य बैठकमा सहभागी हुने कार्यक्रम रहेकोमा त्यसलाई रद्द गरिएको उल्लेख गरेका हुन्।
ट्रम्पले यस विषयमा एकपछि अर्को तीन वटा ट्विट गरेका छन्। उनले अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटको घटनापछि यो निर्णय गरिएको बताएका छन्। विस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको जनाइएको छ। यो घटनाको जिम्मा तालिबानले लिएको थियो। बिहीबारको घटनापछि तालिबानसँग वार्ताको बावजूद अफगानिस्तानमा आगामी दिनमा हिंसा नरोकिने चिन्ता व्यक्त भइरहेको थियो।
अफगानिस्तानका लागि विशेष अमेरिकी राजदूत जल्मे खलिलजादले गत सोमवार तालिबानसँग सैद्धान्तिक रुपमा शान्ति सम्झौता हुने घोषणा गरेका थिए। प्रस्तावित सम्झौता अनुसार अमेरिकाले आगामी २० साताभित्र अफगानिस्तानबाट आफ्नो पाँच हजार ४०० सैनिक फिर्ता लैजाने योजना थियो।
यद्यपि अमेरिकी दूत खलिलजादले सम्झौतासम्बन्धी अन्तिम निर्णय राष्ट्रपति ट्रम्पले गर्ने बताएका थिए।
प्रस्तावित सम्झौतामा अमेरिकी सैनिकको फिर्तीका लागि तालिबानले अफगानिस्तानमा अमेरिका र उसका सहयोगीमाथि आक्रमण नगरिने सुनिश्चित गर्नुपर्ने प्रावधान पनि समेटिएको थियो।
अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैन्य अभियान जारी राखेको छ। सैन्य अभियानका कारण पछिल्लो समयमा भने चरमपन्थीहरु ठूलो मात्रा नियन्त्रण भएका छन्। अमेरिका र तालिबानबीच अहिलेसम्म नौ पटक शान्तिवार्ता भइसकेको छ। तर अफगानीहरुको दीर्घकालीन शान्तिको आशा पूरा हुन सकेको छैन।
तालिबानले अफगान सरकारसँग भने वार्ता गर्न अस्वीकार गर्दै आएको छ। उसले सरकारलाई अमेरिकाको कठपुतली भन्दै आएको छ। तालिबानको अफगानिस्तानमा सन् १९९६ देखि २००१ सम्म शासन गरेको थियो।
अफगानिस्तानमा सन् २००१ मा अमेरिकाको अगुवाई शुरु सैन्य अभियानपछि अन्तर्राष्ट्रिय गठबन्धन सेनाका करीब तीन हजार ५०० सदस्यको मृत्यु भइसकेको छ। सन् २०१९ मा संयुक्त राष्ट्र संघले एक प्रतिवेदनमा जनाए अनुसार यस अवधिमा अफगानिस्तानमा ३२ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। - एजेन्सी