सागर ढकाल चम्किदा नेपाल ८० रनले विजयी
यू– १९ एसिया कप २०१९ को तयारीमा रहेको नेपाली टोलीले श्रीलंकाको बादुरालिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको छ ।
३१ ओभरमा छोट्याइएको खेलमा बादुरालियाले १६५ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपालका युवा बलर सागर ढकाल चम्किदा नेपाल ८० रनले विजयी भएको हो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले राम्रो थालनी गर्न सकेको थिएन । वर्षाका कारण खेल प्रभावित भइरहे पनि पूरै ५० ओभर खेल्नु परेकोले नेपालले २०५ रन मात्रै जोडेको थियो ।
नेपालका लागि ओपनर रित गौतमले ७६ रनको उत्कृष्ट पारी खेले भने हरिबहादुर चौहानले ५६ रन बनाए । तर, अन्य ब्याट्सम्यान खासै टिक्न सकेनन् ।
सन्दीप जोरा २४, आसिफ सेख १४, खड्क बोहरा २, कप्तान रोहितकुमार पौडेल ३ रनमा आउट भए । जवाफी ब्याटिङ भने ३१ ओभरमा छोट्याउँदै डिएल मेथोडका आधारमा १६५ रनको लक्ष्य बादुरालियाले पाएको थियो । तर, नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिएपछि नेपालले फराकिलो जित हात पारेको हो ।
आगामी १९ भदौदेखि हुने एसिया कपमा नेपाल टेष्ट राष्ट्रविरुद्ध खेल्दैछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानजस्ता टेष्ट राष्ट्रसँग नेपाल र यूएई प्रतिष्पर्धामा छन् ।
समूह ‘बी’मा रहेको नेपालले श्रीलंका, बंगलादेश र यूएईसँग भिड्दैछ । यसपटक नेपालले टेष्ट राष्ट्रहरु सम्मिलित प्रतियोगितामा फाइनलकै यात्रा तय गर्ने लक्ष्य लिएको छ ।