कर्णाली नदीको झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार
![कर्णाली नदीको झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार](https://www.himalkhabar.com/uploads/posts/800X600/khachachad-1717933329.jpg)
कर्णाली नदीको झोलुंगे पुलमा अड्किएका ११ खच्चडको उद्धार गरिएको छ भने दुई खच्चड मरेका छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाडा र दैलेखको आठबिस नगरपालिका-६ खिड्कीजिउला जोडने झोलुंगे पुलको जाली लत्रिएपछि आज बिहान साढे ९ बजे १३ वटा खच्चड पुलको बीच भागमा अड्किएका थिए। खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले बताए।
“पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चड मरेका छन्,” डीएसपी पाठकले भने, “बाँकी ११ खच्चडको डुंगाको सहायताले जीवितै उद्धार गर्न सफल भयौं।”
पुलको दाहिने तर्फको जाली लत्रिएको थियो। खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए। पुलको दाहिने तर्फको भाग पूरै बांगो भएको छ।
अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए।