पुल निर्माण नहुँदा राष्ट्रिय सडक सञ्जालमा जोडिएन हुम्ला
हरेक वर्षको बजेटमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरिंदै आए पनि पुल निर्माण नहुँदा चालू आर्थिक वर्षमा पनि हुम्लाका बासिन्दाले सहज यातायातको सुविधा नपाउने भएका छन्।
कर्णाली करिडोर अन्तर्गत हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सडक निर्माण भएको छ। तर खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नबन्दा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन।
पुल निर्माणले गति लिन नसक्दा चालू आर्थिक वर्षमा पनि हुम्लामा सडक सञ्जाल विस्तार नहुने पक्कापक्की नै रहेको हिल्सा-सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले बताए। चालू आर्थिक वर्ष सकिन एक महीना जति बाँकी रहेकाले पुल निर्माण सम्पन्न नहुने नेपालीको भनाइ छ।
“राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुलुकको एक मात्र जिल्ला हुम्ला हो। सरकारले हरेक वर्ष सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्न बजेट विनियोजन गर्दै आएको छ,” उनले भने, “पक्की पुल निर्माण शुरू भएको एक वर्ष हुँदा पनि निर्माण कम्पनीले ढिलाइ गरेकाले काम रोकिएको छ।”
दोजाम कर्णाली नदीमा पुल निर्माण नहुँदा आवागमनमा पनि सास्ती भइरहेको छ। निर्माण शुरू गरिएको भए पनि पुलको पूर्वतर्फको पिलर निर्माणस्थलमा तातोपानीको मुहान निस्किएको छ। गत साउनमा नदीको पानी पिलरमा पस्दा काम रोकिएको थियो। अहिले पनि तातोपानी निस्किएको स्थानमा पुल निर्माण गर्ने वा नगर्ने निश्चित नभएको योजना प्रमुख नेपालीले बताए।
पुल निर्माण गर्ने निर्णय गरी कामअघि बढाएमा कम्तीमा चार वर्ष लाग्ने उनको भनाइ छ। दोजाम कर्णालीमा पक्की पुल निर्माण ढिलाइ भएको भन्दै तत्कालका लागि सोही स्थानमा अस्थायी बेलिब्रिज बनाउनुपर्ने माग स्थानीयले गर्दै आएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबाट बेलिब्रिज निर्माण गर्ने मौखिक सहमति आए पनि बजेटको व्यवस्था नहुँदा काम अगाडि बढ्न नसकेको योजना प्रमुख नेपालीले बताए। पक्की वा अस्थायी पुल निर्माण नहुँदा चार वर्षसम्म सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने सम्भावना नरहेको उनको भनाइ छ।
कर्णाली करिडोर अन्तर्गत दुल्ली कुनाबाट लालीबगरसम्मको असजिलो छारे भिरलाई छिचोलेर नेपाली सेनाले सडकलाई अन्तिम रूप दिने तयारी गरिरहेको छ। यस खण्डमा दैनिक चार घण्टा मात्र यातायातका साधन सञ्चालन हुँदै आएका छन्।
हाल कर्णाली करिडोरमा सञ्चालनमा रहेका यातायातका साधन खार्पुको दोजाम कर्णाली पारिसम्म मात्र पुग्छन्। पारिबाट वारि आउन एक्स्काभेटरको सहयोगमा सवारीसाधन तार्ने गरिएको छ। वर्षाको समयमा नदीमा पानीको बहाव बढ्ने भएकाले जोखिम रहेको स्थानीय बताउँछन्।