खोला तर्ने क्रममा बगेर दुई जना बेपत्ता
![खोला तर्ने क्रममा बगेर दुई जना बेपत्ता](https://www.himalkhabar.com/uploads/posts/800X600/khola-1716789665.jpg)
दार्चुलाको मार्मा गाउँपालिकास्थित गन्याड खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
गए राति मार्मा गाउँपालिका-५, मुरैस्थित गन्याड खोला तर्ने क्रममा स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। ऐन झुपाका भतिज हुन्।
आइतबार साँझ परेको वर्षाले खोलामा बाढी आएको थियो। सधैं वारपार गरिराख्ने खोला तर्ने क्रममा उनीहरू बगेको मार्मा गाउँपालिका-५ का वडाध्यक्ष सुरेन्द्र महताले बताए।
खोलामा बगेर बेपत्ता भएका दुवै जना भेटिएका छैनन्। उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय, लटिनाथको टोली खटिएको प्रहरी निरीक्षक सिंहले बताए।