सिरोहियाको गिरफ्तारी सुनेर अचम्मित र दुःखी छु : माधव नेपाल
![सिरोहियाको गिरफ्तारी सुनेर अचम्मित र दुःखी छु : माधव नेपाल](https://www.himalkhabar.com/uploads/posts/800X600/madhav-nepal-1716364576.jpg)
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीको भर्त्सना गरेका छन्।
एकीकृत समाजवादीको कार्यक्रममा सहभागी हुन सप्तरी आएका अध्यक्ष नेपालले बुधबार राजविराजमा पत्रकारसँग कुराकानी गर्दै सिरोहियाको गिरफ्तारीबारे सुनेर आफू अचम्मित र दुःखी भएको बताए। “यो कुरा सुनेर अचम्मित भएको छु र दुःख पनि लागेको छ। यो कस्तो देश भयो?” पूर्व प्रधानमन्त्री नेपालले भने, “स्वच्छ मिडिया, राम्रो मिडिया चलाए बापतको दण्ड हो कि? कुनै बदलाको भावनाले यो भएको हो कि? बुझ्न सकेको छैन।”
उनले सिरोहिया जनकपुरका बासिन्दा भएको सबैलाई थाहा भएकै उल्लेख गर्दै उनका पुर्खा पनि त्यहीं बस्दै आएको सुनाए। “सिरोहियालाई नेपालको नागरिक हो कि होइन भन्ने कुरामा नै गिरफ्तार गर्नु अत्यन्तै निन्दनीय छ,” नेपालले भने, “एउटै नम्बरको दुई नागरिकता छ भने पाउनेलाई केही हुँदैन। यो प्रशासनतिर सोझिन्छ।”
गम्भीर अपराधमा संलग्न व्यक्तिलाई समात्नु स्वाभाविक भए पनि सिरोहियाको हकमा त्यस्तो नभएको नेपालको भनाइ थियो। “सोधपुछ गरेर सत्यतथ्य पत्ता लगाउन सकिन्छ। उहाँ सहयोग गर्न तयार नै हुनुहुन्थ्यो। तर यो गिरफ्तारी विचित्रको भयो,” नेपालले भने।
यसबारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि कुरा गरेको नेपालले सुनाए। “प्रधानमन्त्रीज्यूसँग कुरा गर्दा गिरफ्तार हुँदैनन् भन्ने ठानेको थिएँ,” नेपालले भने। सिरोहियाको गिरफ्तारीको एकीकृत समाजवादीले भर्त्सना गरेको उनले बताए।
प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो। उनलाई धनुषा लगिएको छ।