सूचना प्रविधि ‘वर्कस्टेशन’ सञ्चालन गरी पाँच हजार रोजगारी सिर्जना गरिने
![सूचना प्रविधि ‘वर्कस्टेशन’ सञ्चालन गरी पाँच हजार रोजगारी सिर्जना गरिने](https://www.himalkhabar.com/uploads/posts/800X600/RS_KTM_RSS_01_1715681824506(2)-1715682604.jpg)
सरकारले आगामी दशकलाई ‘सूचना प्रविधि दशक’ का रूपमा अगाडि बढाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रका रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई वैश्विक सूचना प्रविधि हबका रूपमा विकास गरिने उल्लेख गरे।
काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि ‘वर्कस्टेशन’ सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। राष्ट्रपति पौडेलले राष्ट्रिय कृत्रिम बौद्धिकता रणनीति तयार गरी यसको प्रयोग सम्बन्धी सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख गरे।
यस्तै, विद्युतीय प्रणालीहरूबीच अन्तरआबद्धता कायम गर्न इन्टरनेट तथा डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। साथै, सबै स्थानीय तहका केन्द्र तथा वडा केन्द्रसम्म द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउन उच्च क्षमताको अप्टिकल फाइबर विस्तार गर्ने कार्यलाई तीव्रता दिइने तथा दुर्गम र विकट क्षेत्रमा भू-उपग्रहमा आधारित इन्टरनेट सेवाको प्रारम्भ गरिने उल्लेख छ।
राष्ट्रपति पौडेलले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने कार्य अघि बढाउने तथा डेटा सेन्टरको निर्माण र सञ्चालन सम्बन्धी मापदण्ड तयार गरिने पनि उल्लेख गरे।