कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
![कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत](https://www.himalkhabar.com/uploads/posts/800X600/hikmat_karki_(5)_1687772175.JPG)
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।
प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन्। कार्कीको पक्षमा ५७ मत परेको थियो। नेपाली कांग्रेसले बैठक बहिष्कार गरेकाले विपक्षमा मत परेन।
त्यस्तै, राप्रपाका पाँच सांसद तटस्थ बसे। आजको बैठकमा ६२ सांसद उपस्थित थिए। ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक बहिष्कार गरेको थियो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति विरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल विश्वासको मत लिन नहुने कांग्रेसको भनाइ थियो। मुख्यमन्त्री कार्की विरुद्धको मुद्दामा जेठ ७ गते सर्वोच्चमा पेशी तोकिएको छ।
कांग्रेसको बहिष्कारबीच मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन्। उनलाई नेकपा (एमाले)सँगै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले मत दिएका छन्।
उनी नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। आफू मुख्यमन्त्री छँदाछँदै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेस नेता एवं निवर्तमान मुख्यमन्त्री केदार कार्की त्यही दिन सर्वोच्च अदालत पुगेका थिए।