शुरू भयो भारतीय लोकतन्त्रको परीक्षण
विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा चिनिने भारतमा आजबाट आमनिर्वाचन शुरू भएको छ।
भारतको संघीय संसद्को तल्लो सदन लोक सभाका ५४३ सीटका लागि निर्वाचन शुरू भएको हो। आजबाट शुरू भएको निर्वाचन जेठ १९ गते सकिनेछ।
९६ करोड ९० लाख मतदाता भएको यो संसारकै ठूलो र ऐतिहासिक चुनाव हो। यस निर्वाचनका लागि ५५ लाख वटा इलेक्ट्रोनिक भोटिङ मशिन प्रयोग हुँदै छन्।
सात चरणमा हुने निर्वाचनको आज पहिलो चरणमा मतदान शुरू भएको छ। पहिलो चरणमा २१ वटा राज्य र केन्द्रशासित प्रदेशका १०२ वटा निर्वाचनमा क्षेत्रमा निर्वाचन भइरहेको छ।
आज मतदान भइरहेका प्रान्त र निर्वाचन क्षेत्र:
तामिलनाडु : सबै ३९ सीट।
राजस्थान : २५ मध्ये १२ सीट।
उत्तर प्रदेश : २९ मध्ये आठ सीट।
मध्य प्रदेश : २९ मध्ये ६ सीट।
महाराष्ट्र : ४८ मध्ये पाँच सीट।
उत्तराखण्ड : सबै पाँच सीट।
आसाम : सबै १४ सीट।
बिहार : ४० मध्ये चार सीट।
पश्चिम बंगाल : ४२ मध्ये तीन सीट।
अरुणाचल : दुवै सीट।
मणिपुर : दुवै सीट।
छत्तीसगढ : ११ मध्ये एक सीट।
मिजोरम : एक सीट रहेको राज्य।
नागाल्यान्ड : एक सीट रहेको राज्य।
सिक्किम : एक सीट रहेको राज्य।
त्रिपुरा : दुईमध्ये एक सीट।
जम्मु एन्ड कश्मीर : पाँचमध्ये एक सीट।
अन्डमान एन्ड निकोबार द्वीप : केन्द्रशासित एक सीट।
लक्ष्यद्वीप : केन्द्रशासित एक सीट।
पुडुचेरी : केन्द्रशासित एक सीट।
यसपछि दोस्रो चरणको निर्वाचन अर्को साता हुनेछ। करीब एक साताको फरकमा सात चरणमा मतदान हुनेछ। बाँकी ६ चरणका निर्वाचन मिति र निर्वाचित हुने लोक सभा सीट यस प्रकार छन्।
दोस्रो चरण : वैशाख १४ मा १३ राज्यका ८९ सीट।
तेस्रो चरण : वैशाख २५ मा १२ राज्यका ९४ सीट।
चौथो चरण : वैशाख ३१ मा १० राज्यका ९६ सीट।
पाँचौं चरण : जेठ ७ मा आठ राज्यका ४९ सीट।
छैटौं चरण : जेठ १२ मा सात राज्यका ५७ सीट।
सातौं चरण : जेठ १९ मा आठ राज्यका ५७ सीट।
यसअघि लगातार दुई वटा लोक सभा निर्वाचन जितिसकेको भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडीए) र त्यस विरुद्ध भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा बनेको २८ वटा दलहरूको ‘इन्डियन न्याशनल डेभलपमेन्टल इन्क्लुसिभ एलायन्स (इन्डिया)’ बीच मुख्य प्रतिस्पर्धा हुनेछ। यस निर्वाचनलाई भारतीय लोकतन्त्रको परीक्षणका रूपमा लिइएको छ।
विश्लेषकहरू सत्ताधारी दल भाजपाले राज्यका सबै संस्था र संयन्त्र कब्जा गरेर विपक्षी विरुद्ध परिचालन गरेको आरोप लगाइरहेका छन्।