साझाले सञ्चालनमा ल्यायो देशकै ठूलो चार्जिङ स्टेशन
![साझाले सञ्चालनमा ल्यायो देशकै ठूलो चार्जिङ स्टेशन](https://www.himalkhabar.com/uploads/posts/800X600/Sajha-1712657708.jpg)
साझा यातायातले ठूला बस चार्ज गर्न मिल्ने देशकै ठूलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पुल्चोकस्थित साझा परिसरमा चार्जिङ स्टेशन उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महासेठले सार्वजनिक यातायातको विस्तारमा साझा यातायातलाई सरकारले भरोसा गरेको बताए। यस्तै, आगामी दिनमा साझाको सेवाप्रवाह अझ प्रभावकारी हुने उनले आशा व्यक्त गरे।
![B51X2185.JPG](https://www.himalkhabar.com/uploads/editor/transportation/sajha/B51X2185.JPG)
कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले साझा यातायात विगतदेखि नै समाजमा जनविश्वास जितेको संस्थाका रूपमा स्थापित भएको बताए। उनले साझाको विद्युतीय यात्रा पनि दिगो र दीर्घकालीन हुने आशा गरे।
कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले प्रदान गरेको तीन अर्ब रुपैयाँलाई तीन चरणमा खर्च गर्ने नीति अनुसार पहिलो चरणमा ४० वटा विद्युतीय बस र चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको बताए। उनले साझा परिसरमा भएका चार्जिङ स्टेशनमा १.१ मेगावाट विद्युत् खपत हुने २४ वटा चार्जिङ संयन्त्र रहेको पनि जानकारी दिए।
![_Y0A2143.JPG](https://www.himalkhabar.com/uploads/editor/transportation/sajha/_Y0A2143.JPG)
यस्तै, आगामी दिनमा थपिने बसका लागि साझासँग ठाउँ अभाव रहेको अवगत गराउँदै दीक्षितले थप चार्जिङ स्टेशन विस्तार गर्न काठमाडौं उपत्यकाका १८ पालिकाहरूसँग सहकार्य गर्न जुटेको बताए।
सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न सक्दा कायापलट हुने र निजी क्षेत्रको सहभागिता विना नेपालमा सार्वजनिक यातायातको विस्तार हुन नसक्ने उनले बताए। “शुरूमा ठूलो लगानी लाग्ने विद्युतीय बस सेवा निजी क्षेत्र मार्फत विस्तार गर्न सरकारले वित्तीय सहजीकरण गर्नुपर्छ,” उनले भने।
![_89A1653.JPG](https://www.himalkhabar.com/uploads/editor/transportation/sajha/_89A1653.JPG)
साझाले सोल्युशन प्लसँगको सहकार्यमा डिजल बसलाई बिजुलीमा रूपान्तरित गरी प्रविधि सिकाइको क्रम शुरू गरेको पनि उनको भनाइ थियो। “सरकारको नीतिमा डिजल–टु–विद्युतीय रूपान्तरण परेको छ भने नियमको अभाव छ,” दीक्षितले भने, “यसैले पनि नमूनाका रूपमा हामीले बिजुली रूपान्तरण गरेको बसले सरकारी अनुमति पाउँदा प्रविधि रूपान्तरणलाई मार्गप्रशस्त हुनेछ।”
यस्तै, साझासँग भएका दुई वटा बस पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिने पनि उनले घोषणा गरे।
![_89A1586.JPG](https://www.himalkhabar.com/uploads/editor/transportation/sajha/_89A1586.JPG)
साझाले हाल नौ मिटर लामो ५० यात्रु क्षमताको ७१ डिजल र ४० विद्युतीय गरी १११ बस सञ्चालन गरिरहेको छ। निकट भविष्यमै १२ मिटर लामो बस भित्र्याउने र ‘प्रान्तीय सेवा’ अन्तर्गत विगतमा जस्तै राजधानी र प्रदेशबीचको सेवा विस्तार गर्ने योजना राखेको पनि दीक्षितले बताए।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं महानगरपालिकापछि ललितपुरले साझा यातायातमा धेरै लगानी गरेको जनाउँदै ललितपुरका भित्री शहरमा छिटै बस सेवा विस्तार गर्ने योजना रहेको बताए।
![_89A1753.JPG](https://www.himalkhabar.com/uploads/editor/transportation/sajha/_89A1753.JPG)
यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीले हाल दिनको झन्डै दुई करोडको जीवाश्म इन्धन खपतलाई प्रतिस्थापन गरेको बताए। “विद्युतीय सवारीमा रूपान्तरण हुन सक्दा सञ्चालन खर्च १० देखि १५ प्रतिशत जोगिन्छ,” घिसिङले भने, “३५ सयको पेट्रोलको काम १५० रुपैयाँको बिजुलीले दिइरहेको छ। यसरी हेर्दा सार्वजनिक सवारीलाई विद्युत्मा रूपान्तरण गर्दा झन्डै पाँच खर्ब रुपैयाँ नै जोगिने देखिन्छ।”