ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, चारको मृत्यु
![ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, चारको मृत्यु](https://www.himalkhabar.com/uploads/posts/800X600/TaiwanEarthquake-1712120195.jpg)
ताइवानमा बुधबार बिहान ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ।
भूकम्प २५ वर्षयताकै शक्तिशाली भएको र यसको झट्का देशैभरि महसूस गरिएको द न्यूयोर्क टाइम्समा उल्लेख छ। हालसम्म भूकम्पमा परी चार जनाको ज्यान गएको पुष्टि भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
भूकम्पको केन्द्रबिन्दु ताइवानको पूर्वी प्रान्त हुआलिएन रहेको छ। ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराइ जमीनको सतहबाट १५.५ किलोमिटरमुनि रहेको छ।
भूकम्पले हुआलिएनका करीब २६ भवन ढलेका छन्। भूकम्पका कारण पहिरो जाँदा राजमार्ग पनि अवरुद्ध भएको छ भने केही बेर रेलसेवा पनि स्थगन गरिएको थियो।
हुआलिएन उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्र हो। यहाँ सन् २०१८ मा गएको भूकम्पमा परी १७ जनाको ज्यान गएको थियो।
उता आजको भूकम्पकै कारण जापानको जल तथा मौसम विभागले देशको दक्षिणपश्चिम तटीय क्षेत्रमा तीन मिटर उँचो सुनामी आउन सक्ने पूर्वानुमान गरेको थियो। जापानको ओकिनावाको तटीय क्षेत्र खाली गर्न निर्देशन पनि दिइएको थियो।
७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प लगत्तै अर्को ६.५ म्याग्निच्यूडको पराकम्प पनि गएको ताइवानी अधिकारीहरूले जनाएका छन्। हाल उद्धार र राहत वितरण कार्य जारी छ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बीबीसी, रोयटर्स र न्यूयोर्क टाइम्सको सहयोगमा।)