उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो
![उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो](https://www.himalkhabar.com/uploads/posts/1577249361nirbachan_aayog.jpg)
आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ।
निर्वाचन आयोगले इलामका जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो। यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ। उपनिर्वाचन कार्यतालिका अनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ।
उपनिर्वाचनमा भाग लिन आयोगमा २० दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्म आइपुग्ने उक्त कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन गरिसकेको छ। इलाम २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहनेछन्। यी केन्द्रमा ८९४ जना कर्मचारी परिचालन हुनेछन्।
निर्वाचन आयोगका अनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ।
यस्तै, बझाङ १ (ख) को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश सुदर्शन लामिछाने नियुक्त भएको निर्वाचन आयोगले जनाएको छ।