अन्तिम खेलमा नेपालको रोमाञ्चक जित
![अन्तिम खेलमा नेपालको रोमाञ्चक जित](https://www.himalkhabar.com/uploads/posts/800X600/nepal-a_2-1711968734.jpg)
आयरल्यान्ड वुल्भ्सँगको टी-२० शृंखलाको अन्तिम खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालको ‘ए’ टोलीले आयरल्यान्ड वुल्भ्सलाई तीन रनले पराजित गरेको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले सात विकेटको क्षतिमा २१० रन बनाएको हो।
आयरल्यान्डका लागि मोर्गन टोपिङ र गेराथ डेलानीले अर्धशतक प्रहार गरे। गेराथले ३७ बलमा ६८ र मोर्गनले ३७ बलमा ६० रन बनाए।
नेपालका लागि विपिन खत्रीले तीन, कमल ऐरी, नारायण जोशी र रसिद खानले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २१३ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले ९३ रन बनाए। उनको सबैभन्दा उच्च स्कोर हो। उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे। उनी अविजित रहे।
त्यस्तै, रसिद खानले २४, बसिर अहमद र कमलसिंह ऐरीले १९-१९ तथा पवन सर्राफले १३ र विनोद भण्डारीले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
आयरल्यान्ड वुल्भ्सका लागि फिन ह्यान्डले दुई, लिम म्याकार्थी, गेरेथ डेलानी, म्याथ्यु फोस्टर र गभिन होएले एक-एक विकेट लिए।
अन्तिम खेल नेपालले जिते पनि टी-२० भने आयरल्यान्डले जितेको छ। आयरल्यान्डले २-१ ले शृंखला जितेको हो।